काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताएका छन्।
आइतबार नेपाल एफएम नेटवर्कको १९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गरी विदेश पलायन हुनबाट रोक्न सक्नुपर्ने बताएका हुन्। उनले देशले पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको र रोजगारी सिर्जना गरेको ठाउँमा नेपाली श्रमिकहरुको आकर्षण नभएकाले स्वदेशमै नयाँ व्यवसायहरु खोलेर रोजगारीको वातावरण मिलाउनुपर्ने बताए।
मन्त्री कुँवरले नेपालमा रहेका कम्पनीहरुमा काम गर्ने नेपाली मजदुरहरु भन्दा विदेशीहरु बढीरहेको भन्दै नेपाली श्रमीकहरुलाई नेपालमै रोजगारीको व्यवस्था गर्न सरकार पछिल्लो समय लागिपरेको बताए।
उनले गत आर्थिक वर्षमा मात्रै ६ लाख ३० श्रम स्वीकृति लिएर विदेश गएको तथ्याङ्क रहेको बताए। लुकेर र भिजिट भिसामा विदेशमा गइ काम गर्नेहरुका लागि कुनै समस्या परे राज्यले दिने सेवा, सुविधा नपाउने मन्त्री कुँवरले उल्लेख गरे।
मन्त्री कुँवरले भिजिट भिसामा विदेशमा काम गर्न जाने श्रमिकहरुको नियमन गर्न नसकेको बताए। गत ३ वर्षको तथ्यांकअनुसार ४६ लाख नेपाली नागरिकहरु विदेश गएको उनले जानकारी दिए।
नेपालको कुल जनसंख्यामध्ये झन्डै आधा जनसंख्या विदेशमा रोजगारीको लागि गएको भन्दै यसलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा गम्भीर हुन आवश्यक रहेको बताए।
‘रोजगारी सिर्जना गर्न हामीले सकेका छैनौँ। जहाँ रोजगारी सिर्जना भएको छ, त्यहाँ नेपाली श्रमिकहरुको आकर्षण पनि छैन। मजदुरहरुको अवस्था हेर्दा विदेशी धेरै छन्,’ मन्त्री कुँवरले भने, ‘नेपालीहरु कम मात्रै देखिन्छन् नेपालका कम्पनीहरुमा काम गर्ने। हामी खाडीमा गइरहेका छौँ, हामीले मजदुरी प्राप्त गर्नुपर्ने ठाउँमा हाम्रा मजुर छैनन्।’
मन्त्री कुँवरले श्रम मन्त्रालयबाट विदेशबाट फर्किएकाहरुका लागि पुनः एकीकरणको कार्यक्रम ल्याइएको भन्दै कार्यक्रमलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको बताए। उनले सामाजिक सुरक्षा कोषको दायरालाई बढाउनसके १० लाख सम्मको रोजगारी स्वदेशमा नै सिर्जना गर्नसकिने दाबी गरे।
मन्त्री कुँवरले स्वदेशमै उत्पादन बढाउन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।