लण्डन– बेलायतमा नेपालीहरूको जनसंख्या गत एक दशकमा कम्तीमा ७२ प्रतिशतले बढेको पाइएको छ।
बेलायतको दुई प्रमुख राज्य इङ्ल्यान्ड र वेल्सको जनगणना गर्ने निकाय अफिस फर न्याशनल स्टाटिसटिक्स (ओएनएस) ले मंगलबार सार्वजनिक गरेको एथ्निसिटी (जातीयता) सम्बन्धी तथ्याङ्कलाई सेन्टर फर नेपाल स्टडिज (सीएनएस) युकेले गरेको विश्लेषणमा सो तथ्य पाइएको हो।
सीएनएस युकेका अनुसार इङ्ल्यान्ड र वेल्सको जनगणनामा जातीयता नेपाली (गोर्खा समेत) उल्लेख गर्नेहरूको संख्या १ लाख ३ हजार ८७५ पुगेको छ। यद्यपि, यस तथ्याङ्कलाई ओएनएसले आधिकारिक पुष्टि गर्न बाँकी नै छ।
यसअघि सन् २०११ को जनगणनामा इङ्ल्यान्ड र वेल्समा जातीयता ‘नेपाली’ बताउने नेपालीहरूको संख्या ६० हजार २०२ मात्र रहेको थियो। एक दशकमा ती दुई राज्यहरूमा नेपालीहरूको संख्या ७२.५५ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ।
रसमोरमा बस्छन् सबैभन्दा बढी नेपालीहरू
तथ्याङ्कअनुसार रसमोर नेपालीहरूको सबैभन्दा बाक्लो बसोबास रहेको क्षेत्रको रुपमा कायमै रहेको छ, जहाँ नेपालीहरूको संख्या १० हजार ५७५ पुगेको छ। सन् २०११ को जनगणनामा रसमोरमा ६ हजार १३१ नेपाली थिए। त्यसपछि दक्षिण पूर्वी लण्डनको ग्रीनीच नेपालीहरूको दोस्रो घना बस्ती रहेको क्षेत्रको रुपमा कायमै छ जहाँ नेपालीहरूको संख्या ७ हजार ६४९ रहेको छ।
सन् २०११ को जनगणनामा त्यहाँ ५ हजार ४०७ नेपाली रहेको तथ्याङ्क थियो। त्यसपछि रेडिङ नेपालीहरूको अधिक बसोबास रहेको तेस्रो स्थान बनेको छ, जहाँ नेपालीहरूको जनसंख्या ५ हजार ३४४ देखिएको छ।
सन् २०११ को जनगणनामा रेडिङ २ हजार ७३५ नेपालीको जनसंख्यासहित चौंथो स्थानमा थियो। सन् २०११ को जनगणनामा २ हजार ८०० जनसंख्यासहित तेस्रो स्थानमा रहेको ब्रेन्टमा भने नेपालीको संख्या घटेर १ हजार ९३५ मा झरेको देखिएको छ।
तथ्याङ्कअनुसार बेलायतका २० वटा स्थानमा नेपालीहरूको संख्या १ हजारभन्दा बढी रहेको पाइएको छ। सीएनएस युकेका पूर्वकार्यकारी निर्देशक डा कृष्ण अधिकारीले जनगणनामा नेपालीहरूको संख्या उल्लेख्य वृद्धि हुनुमा पाँचवटा कारण प्रमुख रहेको बताए।
पहिलो, बेलायतमा जन्मिएका पहिलो पुस्ताका बेलायती नेपाली। दोस्रो, सन् २००९ मा गोरखा भूतपूर्व सैनिकहरूलाई बेलायतको आवासीय अधिकार दिइएपछि गोरखा परिवारमा आश्रित वयस्कहरूको बेलायत प्रवेश। तेस्रो, हङकङमा रहेका ब्रिटिश न्याशनल ओभरसिज (बीएनओ) राहदानीवाहकहरूप्रति बेलायतको उदार आवासीय नीति। चौंथो, युरोपका विभिन्न मुलुकमा रहेका नेपालीहरू ब्रेक्जिटपछि युरोपियन युनियनभित्रका बासिन्दालाई बसोबास रोज्न दिइएको ग्रेस अवधिअन्तर्गत बेलायतमा बसोबास गर्नु र पाँचौँ, बेलायतमा उच्च शिक्षा अध्ययनका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अनपाइएको खुकुलो नीति।
यसका साथै सन् २०११ को जनगणनाको बेलायतका नेपालीको अनुभव र बेलायतको नेपाली समुदायमा जनगणनाप्रति आएको चेतना तथा प्रमुख संघसंस्थाहरू नै जनगणनाको अभियानमा सामेल हुनुले पनि नेपालीको संख्या बढेको हुनसक्ने अधिकारीहरुको भनाइ छ।
यद्यपि, बेलायतमा जातीय अल्पसंख्यकहरू जनगणनामा छुट्न सक्ने ठूलो सम्भावनालाई हेरेर विभिन्न उपायहरू अपनाइए पनि अझै १० देखि १५ प्रतिशत नेपालीहरू जनगणनामा छुटेको हुनसक्ने सीएनएस युकेको विश्लेषण छ। त्यसको आधारमा बेलायतमा नेपालीहरूको विद्यमान जनसंख्या १ लाख २५ हजारदेखि १ लाख ५० हजारसम्म रहेको सीएनएस युकेको आकलन छ।
बेलायतका चार राज्यहरूमध्ये स्कटल्यान्डमा कोभिड महामारीका कारण गत वर्ष जनगणना हुन सकेन र यस वर्ष मात्र सम्पन्न भएको छ। उता उत्तरी आयरल्यान्डमा गत वर्ष नै जनगणना भएपनि जनगणनाको जातिगत तथ्याङ्क विस्तृतरूपमा सार्वजनिक भइसकेको छैन। तथापि त्यहाँ पनि नेपालीहरूको संख्या इङ्ल्यान्ड र वेल्सकै अनुपातमा वृद्धि भएको हुनसक्ने सम्भावना छ।
सन् २०११ को जनगणनामा स्कटल्यान्डमा नेपालीहरुको जनसंख्या १ हजार २६८ मात्र थियो भने उत्तरी आयरल्यान्डको संख्या उपलब्ध थिएन। नेपालीहरूमा एकातिर आफ्ना आफन्त र साथीहरू पहिले नै बसोबास गरिरहेको ठाउँमा बसाइ सर्ने प्रवृत्ति रहेको छ भने अर्कोतर्फ जनगणनापछि पनि अन्तर्राष्ट्रिय विद्यार्थी, वर्क पर्मिटलगायतको बाटोबाट नेपालीहरू बेलायतमा प्रवेश गरिरहेकाले आगामी दिनमा पनि बेलायतमा नेपालीहरूको संख्या बढ्न सक्ने देखिन्छ।
नेपाली भाषा बोल्नेको संख्या ७४ हजार
यसैगरी, इङ्ल्यान्ड र वेल्समा नेपाली भाषा मूल भाषा हुनेहरूको संख्यामा करिब ४१ प्रतिशतले वृद्धि भएको छ।
सन् २०२१ को जनगणनाअनुसार नेपाली भाषा वक्ताको संख्या ७४ हजार ३६८ पुगेको छ। सन् २०११ मा सो संख्या ५२ हजार ७८५ मात्र थियो। नेपाली भाषा इङ्ल्यान्ड र वेल्समा २१औँ स्थानमा परेको छ। गत जनगणनामा पनि नेपाली भाषा सोही स्थानमा रहेको थियो।
सन् २०११ मा सीएनएस युकेको निरन्तर पहलपछि ओएनएसले नेपालीलाई ‘साना अल्पसंख्यक जातीय समुदाय’को अध्ययनमा समावेश गरेको कार्यकारी निर्देशक लोकेन्द्रपुरुष ढकालले बताए।
सीएनएस युकेले जनगणना राज्यको आधिकारिक तथ्याङ्क हुने भएकाले त्यसमा नेपालीहरूको वास्तविक संख्या दर्ज हुन सके सरकारी तथा गैरसरकारी निकायबाट नेपालीहरूमाथि विभिन्न नीतिगत योजना ल्याउन सजिलो हुने भन्दै लामो समयदेखि अभियान गर्दै आएको छ।
सन् २०२१ को जनगणनामा सीएनएस युकेका तर्फबाट गरिएको सामुदायिक अभियानको संयोजन सीएनएस युकेका अनुसन्धाता तथा नेपाल पत्रकार महासंघ युकेका पूर्वअध्यक्ष नरेश खपाङ्गी मगरले गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।