काठमाडौं– वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ।
श्रम स्वीकृति लिई कतार गएका र व्यवसायी संघ कतार शाखासँग आबद्ध रहेका नेपाली व्यवसायीहरु र प्रवासी नेपाली कामदारहरुको राहत, उद्दार, स्वदेश फिर्ता तथा पुनर्एकीकरणका लागि सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।
सझदारीपत्रमा वैदेशिक रोजगार विभागका तर्फबाट महानिर्देशक उमाकान्त आयार्च, बोर्डको तर्फबाट निर्देशक मैयाँ कडेल र नेपाल व्यवसायी संघ कतारका तर्फबाट संघका अध्यक्ष महेन्द्र चौलागाईंले हस्ताक्षर गरे।
समझदारीपत्रमा नेपाल सरकारले वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सहयोग पुग्ने विश्वास लिएको छ।
त्यस्तै, नेपालबाट श्रम स्वीकृति लिई गएका र कतारमा प्रवासी व्यवसायीका रुपमा रहेका नेपालीहरुको आवतजावतका केही असहज प्रकृया अन्त्य गरी विभागबाट परिचय पत्र प्रदान गर्ने र नेपाली कामदारहरुको उद्धार, राहत, स्वदेश फिर्ती तथा पुनर्एकीकरणका लागि तीनै पक्षले सहकार्य गर्ने विषय समझदारीपत्रमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।