काठमाडौं– केही दिनदेखि थापाथलीस्थित सुकुम्बासी बस्ती आक्रोशित छ। अधिकारसम्पन्न बाग्मती सभ्यता विकास समिति र काठमाडौं महानगरपालिकाले उक्त सुकुम्बासी बस्ती जबरजस्ती हटाउन खोजेपछि सुकुम्बासीहरू आक्रोशित भएका हुन्। सुकुम्बासीहरू आफैँले मत दिएर पठाएका जनप्रतिनिधिहरूले नै आफूलाई उठिबास लगाउन खोजेको आरोप लगाएका छन्। चुनावको बेलामा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू उक्त बस्तीमा गएर भोट माग्ने गरेका छन्। भोट माग्दा उक्त बस्ती हटाउनु नपर्ने बताए पनि सत्तामा पुगे पछि भने तिनै नेताहरूको आँखाको तारो उक्त बस्ती पर्ने गरेका छन्।
अहिले उक्त बस्ती हटाउन कम्मर कसेर लागेको काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’ले नै उक्त बस्तीमा भोट माग्न जाँदा बस्ती हटाउनु नपर्ने अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
उक्त भिडियोमा अहिलेका मेयर बालेन भोट माग्नको लागि खादा र माला लगाएर सुकुम्बासी बस्ती पुगेको देखिन्छन्। उक्त भिडियोमा उनले बस्ती हटाउनु र सो स्थानबाट बाटो बनाउनु विकास नमान्ने बताएका छन्।
‘कुनै पनि विकास गर्दा खेरी बस्ती हटाउनु, त्यो बस्तीबाट बाटो निकाल्नु वा ठूलो पार्नुलाई म विकास मान्दिनँ’, उक्त भिडियोमा विकासको परिभाषा दिँदै उनले भनेका छन्, ‘विकास भनेको त मान्छे व्यवस्थित भएर बस्नु पर्यो। मान्छेहरू खुसी हुनु पर्यो। कुनै पनि विकास गर्दा त्यहाँका मानिसहरू खुसी छैनन् भने त्यसलाई म विकास नै मान्दिन।’
अन्य स्थानमा विकासको नाममा घर नै भत्काउने, बस्ती नै उठाउने गरेको उदाहरण दिँदै बालेनले त्यो गलत भएको बताएका छन्। उनले काठमाडौं एउटा जात र कुनै एउटा समुदायको नभएको जिकिरसमेत गरेका छन्।
‘काठमाडौंमा त पूरै देशभित्रबाट आएका मानिसहरू बसोबास गर्दै आएका छन्। यहाँ काम गर्दा नियम–कानुनसम्मत रूपमा जानु पर्छ। नियम कानुनविरुद्ध जानु हुँदैन। यी चिजहरूलाई व्यवस्थापन गरेर लैजानु पर्छ भन्ने मेरो बुझाइ हो’ उनले भनेका छन्।
यही आश्वासनका कारण मेयर बालेनलाई आफूहरूले भोट हालेर जिताएको दाबी सुकुम्बासीहरूले गरिरहेका छन्। तर उनले मेयर भएपछि आफ्नै बाचा बिर्सिएर बस्तीमा डोजर चलाउन अनुमति दिएको गुनासो उनीहरूको छ।
महानगरको शक्तिले मात्रै बस्ती हटाउन नसकने देखेपछि बालेनले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेट्न पुगेको बताइएको छ। प्रधानमन्त्रीले बालेनलाई सहयोग गर्नेसम्मको आश्वासन दिएका थिए। अहिले सुकुम्बासीहरूले मेयर बालेनले बोलेको सोही अभिव्यक्तिसहितको भिडियो सामाजिक सञ्जालमा सेयर गर्नुका साथै उनको म्यासेज बक्समा पठाउने गरेका छन्।
हेरौं भिडियो:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।