काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका छन्।
प्रधानमन्त्री बन्ने तयारीमा रहेका महामन्त्री थापाले पार्टी संसदीय दलको नेता चयन प्रक्रियामा आफू लागिपरेको बताएका हुन्।
महिला सुरक्षा दबाब समूह, नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले शुक्रबारसम्म आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको बताए। त्यसपछि भने सम्पूर्ण रुपमै संसदीय दलको नेता चयन हुने निर्वाचनमा जुट्ने योजनामा रहेको थापाले बताए।
महामन्त्री थापाले केही दिनभित्र नयाँ मन्त्रिपरिषद् बन्ने समेत बताए। उनले मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागिता हुनेगरी कानुन निर्माण गर्न आफू प्रतिबद्ध भएर लागिपर्ने आश्वासन दिए।
‘अस्ति मलाई निम्तो गर्न आउँदाखेरी पनि म यो कार्यक्रम बाहेक अन्य कार्यक्रमहरुमा आउँछु भन्ने अवस्था नै थिएन। शुक्रबारसम्म हामी धन्यवादको कार्यक्रम सकौं। त्यसपछि अरु काममा जुट्नु पर्नेछ। मेरो त अर्को चुनाव आउँदैछ। मैले त्यो काममा केन्द्रित हुनुछ’, थापाले भने।
महामन्त्री थापाले सबै राजनीतिक दलहरुले प्रत्यक्षतर्फको निर्वाचनमा पनि ३३ प्रतिशत महिला अनिवार्य उम्मेदवार उठाउनुपर्ने गरी निर्वाचन कानुन संशोधन गर्ने काममा ढिलाई गर्न नहुने दोहोर्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।