काठमाडौं- एकीकृत समाजवादीका 'सम्मानित' नेता झलनाथ खनाल उम्मेदवार रहेको इलाम- १ मा पुन: मतदानका लागि कानुनी उपचार खोज्ने निर्णय उक्त पार्टीले गरेको छ। सत्ता गठबन्धनको समर्थन प्राप्त खनाललाई एमालेका महेश बस्नेतले पराजित गरेका हुन्।
चुनावपछि बसेको सचिवालय बैठकमा मतदान निष्पक्ष नभएको आशंका गर्दै त्यसका लागि कानुनी उपचारमा जाने निर्णय भएको अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए।
देशभरिको प्रारम्भिक समीक्षा गरिएको बताउँदै उनले विशेषगरी इलाम- १ र उदयपुरमा समस्या देखिएको बताए।
उनले भने, 'यी दुई क्षेत्रमा अनेकौं विसंगति देखिए। हाम्रा सम्मानित नेता (झलनाथ खनाल)ले विसंगतिबारे बक्तव्य निकालेर आपत्ति पनि जनाउनुभयो। हामीले कानुनी उपचारमा जाने र पुन: मतदानको माग गर्ने निष्कर्ष निकालेका छौं।'
वाम गठबन्धन बन्ने विषयलाई भने उनले इन्कार गरेका छन्। वाम गठबन्धन हुन सक्ने चर्चा चलिरहेको बताउँदै सम्भावनाबारे उनलाई गरिएको प्रश्नमा उनले भने, 'म त्यस्तो कुनै सम्भावना देख्दिनँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।