ललितपुर– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अबको आवश्यकता विकास र सुशासन भएको बताएका छन्।
अध्यक्षले प्रचण्डले समाजवादको आधार तयार पार्ने समृद्धिको नयाँ यात्रा आर्थिक क्रान्तिका लागि गोरखातिर आफ्नो ध्यान रहेको बताए। सुशासन र विकासबाट नै जनतामा भ्रम छर्ने प्रवृतिलाई परास्त गर्न सकिने उनको भनाइ थियो।
गोरखा–काठमाडौं सम्पर्क मञ्चद्वारा ललितपुर खुमलटारमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘राष्ट्रलाई एकता, समृद्धि र सुशासनतिर लैजाने उपयुक्त थलो गोरखा हो। त्यहाँका जनताको भरोसा र विश्वासको बलमा मैले राष्ट्रिय एकता पनि कायम गर्नुपर्छ र राजनीतिमा देखा पर्न खोजेका आवेग, असन्तुष्टि र निराशालाई पनि सम्बोधन गर्ने ढंगले गोरखाली जनताको विश्वासको बलमा अगाडि बढ्नुपर्छ।’
अध्यक्षले आफूलाई गोरखाली जनताले गरेको विश्वास र दिएको जिम्मेवारी पूरा गर्ने संकल्प गरेको बताए। उनले आउने ५ वर्षमा गोरखा जिल्लामा जनताले देख्ने, बुझ्ने महशुस हुनेगरी विकासलाई गति दिने उनको भनाइ थियो।
अध्यक्ष प्रचण्डले भने, ‘गोरखाको भौतिक संरचनाको विकासको कुरा र त्यहाँको शिक्षा, स्वास्थ्य, रोजगारी र खाद्य सम्प्रभुता, पर्यटन विकास, कृषिको आधुनिकिकरण लगायतका यी सबैमा मेरो ध्यान छ। ठूला परियोजनालाई पूर्णतामा लैजान र नयाँ परियोजना सुरु गर्नुपर्ने पनि छ। यी सबै पूरा गर्न तपाईंहरु सबैको साथ सहयोग मिल्नेमा म विश्वस्त पनि छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।