काठमाडौं– विश्वकपमा खराब सुरुवात गरेको आयोजक कतारले शुक्रबार अफ्रिकाको बलियो राष्ट्र सेनेगलसँग समूह चरणको दोस्रो खेलमा प्रतिस्पर्धा गर्दैछ। यही खेलको नतिजाबाट आयोजक राष्ट्रले अन्तिम १६ मा स्थान बनाउने कि नबनाउने निधो हुनेछ।
कतार पहिलो खेलमा दक्षिण अमेरिकी क्षेत्रको कमजोर राष्ट्र इक्वेडरसँग आइतबार २–० गोलले पराजित भएको थियो। विश्वकप इतिहासमा आयोजक राष्ट्र पहिलो खेलमै पराजित भएको त्यो पहिलो घटना थियो।
यो घटनाबाट बाहिरिन कतारले आज सेनेगललाई जसरी पनि जित्नैपर्ने हुन्छ। आजको खेलमा पराजय भोगेको खण्डमा कतार विश्वकपबाट बाहिरिने पहिलो टोली पनि बन्न सक्छ।
सेनेगलको पनि यस विश्वकपमा सुरुवात राम्रो छैन। उसले पनि नेदरल्याण्ड्ससँगको पहिलो खेल २–० कै अन्तरमा गुमाएको थियो। सेनेगललाई पनि प्रतियोगितामा बनिरहन आज कतारलाई जित्नैपर्ने हुन्छ।
यी दुवै टोलीबीचको खेल अल–थुमामा रंगशालामा नेपाली समयअनुसार ६ बजेर ४५ मिनेटमा हुँदैछ। कतारी प्रशिक्षक एलेक्स सान्चेजले पहिलो खेलमा आफ्नो खेलाडी ‘नर्भस’ भएको प्रतिक्रिया दिएका छन्। उनले आज हुने खेलमा टिम उच्च मनोबलका साथ मैदानमा उत्रिने आश्वासन समर्थकहरूलाई दिएका छन्।
टिमका आक्रामक जोडी अल्मोएज अली र अक्रम अफिफ इक्वेडरविरूद्धको खेलमा खासै प्रभावशाली देखिएका थिएनन्। तर, आज उनीहरूले पुनरागमन गर्नसक्ने आशा गरिएको छ।
पहिलो खेलको कमजोर प्रदर्शनपछि कतारको फुटबल विकासलाई लिएर पनि आलोचना भइरहेको छ। यस अर्थमा पनि आज कतारलाई उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बाध्यता छ।
यस्तै, सेनेगलले पनि पहिलो खेलमा आफ्नो स्टार खेलाडी साडियो मानेको अभाव महसुस गरेको थियो। चोटका कारण उनी अन्तिम समयमा टिमबाट बाहिरिएका थिए। अर्का स्ट्राइकर फमारा डडायुको चोट पनि प्रशिक्षक आलीउ सिसेका लागि तनावको विषय बनेको छ।
पहिलो खेलमा कतारी गोलकिपर साद अल–साइब डिबक्समा निकै फितलो देखिएका थिए। उनको स्थानमा आज मेसाल बार्साहामलाई मैदानमा उतार्ने सम्भावना प्रबल छ।
इक्वेडरविरूद्धको खेलमा ४ कतारी खेलाडीले पाएको पहेँलो कार्डमा अल–साइबको पनि नाम थियो। अन्य खेलाडीमा स्ट्राइकरद्वय अली र अफिफसँगै करिम बाउदी पनि रहेका छन्।
कप्तान हसन अल हेदोस आज १७१ खेलका लागि मैदानमा उत्रिने छन्। नेदरल्याण्ड्सको खेलमा खुट्टाको नसा तन्किएपछि मैदान बाहिरिएका सेनेगलका अब्दु देआलो पुनः टिममा फर्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।