काठमाडौं– अहिलको स्वीट्जरल्याण्डको फुटबल टिमबारे प्रशिक्षक मुरत याकिनले भनेका छन्, ‘अहिले हामी उच्च लयमा छौं। जुन योभन्दा अघि थिएनौं। हामी विश्वकपको अन्तिम चरणसम्म दौडन योग्य छौं।’
विश्वकपका अन्तिम चार प्रतियोगितामध्ये स्वीस टिम तीनपटक अन्तिम १६ मा पुगेको थियो। आयोजक भएको बेला सन् १९५४ मा क्वाटरफाइनल प्रवेश गरेयता स्वीस टिमले राम्रो गर्न सकेको छैन। त्यही स्वीस टिम आज समूह ‘जी’ आफ्नो पहिलो खेल अफ्रिकन देश क्यामरुनसँग खेल्दैछ।
‘हामीले धेरै सुधार गरिसकेका छौं। अब हामी इतिहास लेखाउने लक्ष्यमा छौं,’ याकिनले भनेका छन्, ‘मलाई लाग्छ स्वीस टिम अहिले एकदमै बेस्ट छ, जुन अहिलेसम्म थिएन।’
अहिलेको विश्वकपमा आफूले धमाकेदार प्रदर्शन गर्ने उनको दाबी छ। ‘हामी यहाँ सहभागी हुन मात्रै आएका हैनौं। विजयी सुरुवात गर्दै अर्को चरणमा जानेछौं’, याकिनले भने।
स्वीस टिमले प्रतिस्पर्धा गर्न लागेको क्यामरुन फिफा वरियतामा ४३ औं स्थानमा छ। यता स्वीस टिम भने १५ औं स्थानमा छ। आफूभन्दा २८ स्थान तलको क्यामरुनसँग प्रतिस्पर्धामा उत्रँदा स्वीस टिम आक्रमक हुने देखिन्छ।
इनडोमिटेवल लायन्स (क्यामरुन नेसनल फुटबल टिम) का कोच रिगोबर्ट सङ कुरामा दृढ देखिन्छन् भने अल जबदु रंगशालामा कुनै पनि समय उलटफेर नतिजा निकालेर स्वीस टिमलाई हराइने दाबी गर्छन्।
जारी विश्वकपमा सरप्राइन नतिजाहरु आइरहेकाले त्यसको निरन्तरता आजको खेलमा क्यामरुनले पनि देखाउने दाबी रिर्गोबर्टको छ। ‘हामीले यो विश्वकपमा आश्चर्यचकित नतिजा देखिसकेका छौं। त्यसको निरन्तरता हामीबाट पनि हुनेमा म विश्वस्त छु’, लिभरपुलका पूर्वडिफेन्डर तथा ४६ कोच रिगोबर्टले भने।
‘हामी आफ्नो प्रतिद्वन्द्वीलाई सम्मान गर्छौं। तर मैदानमा को बलियो छ भनेर हेर्दै हुनुहुन्छ। मैदानमा उत्रिएपछि फिफा वरीयता भन्ने चिज बाहिरै फालिन्छ’, रिगोबर्ट भन्छन्।
स्वीस गोलकिपर यान्ना सोमेर, डिफेन्डर रिकार्डो रोड्रिगेज पूर्ण फिट भएर मैदान उत्रने तयारीमा छन्। यता क्यामरुनका मुख्य हतियार तथा नापोलीका मिडफिल्डर आन्द्र फ्रान्क जम्बो एनिगुइस भने पूर्ण फिट नभएकाले मैदान उत्रनेमा शंका छ।
सन् २०२० को युरोकपमा स्वीट्जरल्याण्डले क्वाटरफाइनला फ्रान्सलाई हराउँदै सनसनी मच्चाएको थियो। त्यही स्तरको खेल विश्वकपमा पनि देखाउने लक्ष्यमा स्वीस टिम छ।
विगत केही वर्षदेखि स्वीस टिमको भरपर्दा स्ट्राइकर मानिकाएका साकिरी अहिले भने युरोप छाडेर अमेरिकन क्लबमा फुटबल खेल्दैछन्। जसकारण यो पटकको धेरै जिम्मेवारी ग्रेनाइट साकामा छ। उनी आर्सनलमा आबद्ध छन्। रेडबुल साल्जबर्गका स्ट्राइक नोच काफोर पनि स्वीस टिमको पहिलो रोजाइमा पर्न सक्छन्।
१२ पटक विश्वकप खेल्दै गरेको स्वीस टिमले पाँच विश्वमा आफ्नो पहिलो खेल हारेको रेकर्ड छैन। अफ्रिकन महादेशबाट सबैभन्दा बढी ८ पटक विश्वकप खेलेको देश हो क्यामरुन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।