काठमाडौं– अन्तर्राष्ट्रिय फुटबलमा दुई खेलाडी अर्जेन्टिनाका लिओनल मेसी र पोचुगलका क्रिस्टियानो रोनाल्डोको प्रतिद्वन्द्वीता कसलाई थाहा नभएको विषय हो र! करिब १५ वर्षदेखि यी दुई खेलाडीबीच प्रतिस्पर्धा छ। विश्वको उत्कृष्ट खेलाडी बन्ने होडदेखि प्रतिष्ठित प्रतियोगिता जिताउनेसम्म, यी दुई खेलाडीबीच दह्रो भिडन्त हुने गरेको छ।
यी दुई खेलाडीको क्षमतालाई लिएर पनि विश्व फुटबल दुई भागमा विभाजित छ। यी दुवै पटक–पटक विश्व फुटबलको उत्कृष्ट खेलाडी बनिसकेका छन्। यिनीहरूमध्ये मेसीले दक्षिण अमेरिकी क्षेत्रको प्रतिष्ठित कोपा अमेरिका कप आफ्नो देशलाई जिताएका छन् भने रोनाल्डोले युरोकप। यति हुँदाहुँदै पनि यी दुवै खेलाडीमाथि उठ्ने प्रश्न भनेको, दुवैसँग विश्वकप जितको अनुभव छैन।
अर्जेन्टिना र पोर्चुगल यसपालि विश्वकप उपाधि जित्ने योजनासहित कतार पुगेका छन्। तर, अर्जेन्टिनाले एसियाको कमजोर मानिएको साउदी अरेबियासँग २–१ गोलले पराजय भोगिसकेको छ भने पोर्चुगल आज (बिहिबार) अफ्रिकी देश घानासँग राती ९ बजेर ४५ मिनेटमा भिड्दै छ।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग भर्खरै अनुबन्धन सम्झौता रद्द भएपछि रोनाल्डोको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ। यसले उनको खेललाई प्रभावित पार्ने केहि विश्लेषकको भनाइ छ। तर उनी दबाबलाई राम्रोसँग झेल्नसक्ने खेलाडीको रूपमा परिचित छन्।
यस्तो अवस्थामा आज हुने खेलमा उनको प्रदर्शन कस्तो हुने हो, यो सर्वत्र चासोको विषय बनेको छ। यसपालि रोनाल्डो त्यति मिडियाको नजरमा छैनन्। मेसीको जति चर्चा छ, त्यति उनको छैन। यो उनका लागि दबाबबाट बाहिरिने अस्त्र बन्न सक्छ।
विश्वकपको कुरा गर्दा, ४ वर्षअघि पोर्चुगल समूहमा कुनै खेल नजिति पहिलो चरणबाटै बाहिरिएको थियो। उसले यतिबेला २ खेल बराबरी र एकमा पराजय भोगेको थियो। विश्वकपमा पोर्चुगलको राम्रो प्रदर्शन सन् २००६ मा थियो। त्यतिबेला उ क्वाटरफाइनलसम्म पुग्न सफल भएको थियो। घाना र पोर्चुगलबीच एकपल्ट विश्वकपमा भिड्न्त भइसकेको छ। सन् २०१४ को विश्वकपमा समूह चरणमा क्रिस्टियानो रोनाल्डोकै विजयी गोलका कारण घाना २–१ ले पराजित भएको थियो।
त्यसैले आज घानाको अगाडि ८ वर्ष अगाडिको बदला लिने मौका पनि जुरेको छ। विश्वकपमा घानाको उत्कृष्ट प्रदर्शन भनेको २०१० मा हो। त्यतिबेला उ क्वाटरफाइनलमा प्रवेश गरेको थियो।
घानामा हाल आर्सनलका डिफेन्सिभ मिडफिल्डर थोमस पार्टे र एथलेटिक बिलबाओका इनाकी विलियम्स जस्ता प्रतिभाशाली खेलाडी समावेश छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।