काठमाडौं– पूर्वविश्व विजेता स्पेनले कतारमा जारी विश्वकपको सुरुवात उत्कृष्ट ढंगले गरेको छ। उसले समूह ‘इ’ अन्तर्गत पहिलो खेलमा कोस्टारिकालाई ७–० को विशाल गोलअन्तरले पराजित गरेको छ।
जारी विश्वकपमा अहिलेसम्म कुनै टिमले विपक्षी टोलीविरूद्ध गरेको यो पहिलो फराकिलो गोल अन्तर हो। स्पेनले पनि पहिलो पल्ट कुनै टोलीलाई यति ठूलो अन्तरले पराजित गरेको हो।
स्पेनको जितमा युवा स्ट्राइकर फेरान टोरेसले २, डानी ओमो, मार्को असेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोराटाले १/१ गोल गरे।
पहिलो हाफको ३१ मिनेटमा पेनाल्टीबाट गोल गरेका टोरेसले दोस्रो हाफको ५४ मिनेटमा अर्को गोल थपेका थिए।
स्पेनले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो। उसले दोस्रो हाफमा ४ गोल थप्यो। स्पेनका लागि डानी ओमोले ११ मिनेटमा सुरुवाती सफलता दिलाएका थिए।
दोस्रो गोल मार्को असेन्सियोले गरे। तेस्रो र चौथो गोल टोरेसको नाममा रहयो। १८ वर्षको उमेरमा विश्वकपमा डेब्यु गरेका गाभीले ७४ मिनेटमा गोल गरे।
उनी विश्वकपमा कम उमेरमा गोल गर्ने तेस्रो युवा खेलाडी बन्न पुगेका छन्। उनले बुधबार राती स्पेनलाई पाँचौ गोलको सफलता दिलाउने क्रममा १८ वर्ष ११० दिनमा गोल गरेका थिए।
यसअघि विश्वकपमा ब्राजिलका पेलेले १७ वर्ष २४९ दिनमा गोल गरेका थिए। मानुअल रोसासले पनि १८ वर्ष ९९ दिनमा गोल गरेका थिए।
स्पेनका लागि कार्लोस सोलेरले ९० मिनेटमा र मोराटाले निर्धारित ९० मिनेटपछि थप भएको दोस्रो मिनेटमा गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।