काठमाडौं– नेपाल उद्योग वााणिज्य हासंघका अध्यक्ष शेखर गोल्छाले मतदान गरेका छन्। उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ को सीतापाइला माविस्थित मतदान केन्द्रबाट मतदान गर्दै देशको समृद्धि र सुशासनको पक्षमा काम गर्ने उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरे।
उनले देशमा समृद्धि ल्याउन सक्ने विश्वास बोकेकाहरुलाई जिताउन आवश्यक रहेको बताए। अध्यक्ष गोल्छाले मतदानको अधिकार संविधानले दिएको नैतिक र कानुनी जिम्मेवारी भएको भन्दै सबैले आफ्नो अधिकारको प्रयोग गर्न अनुरोध गरे।
‘जसले यो देशलाई अघि बढाउन सक्छ, जसले देशमा समृद्धि ल्याउनसक्छ र जोसँग विश्वास छ, जसले यो देशलाई राम्रो दिशा दिनसक्छ, त्यसैलाई भोट दिऔं,’ उनले भने, ‘यो हाम्रो नैतिक जिम्मेवारी पनि हो। कानुनी जिम्मेवारी पनि हो। संविधानले दिएको अधिकारबाट कोही पनि बञ्चित हुनु हुँदैन।’
अध्यक्ष गोल्छाले देशलाई परिवर्तन गर्नसक्ने नेतृत्वको चयनका लागि सबै उपस्थित भएर मतदान गर्न आग्रह गरे। एकै चरणमा देशभर प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ। आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।