काठमाडौं– प्रेस काउन्सिल नेपालले आइतबार हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसँग जोडिएर समाजिक सञ्जालमा आएका गलत समाचार (फेक न्युज) प्रति आफनो ध्यानाकर्षण भएको जनाएको छ ।
निर्वाचनको मौन अवधि सुुरु भइसकेको समयमा शुक्रबार बिहानदेखि केही प्रमुख सञ्चारमाध्यममा आएका समाचारका शीर्षकहरू परिर्वतन गरेर प्रचारप्रसारमा ल्याइएकोप्रति काउन्सिलले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।
यस्तो काम गलतमात्र नभएर र आपराधिक नै भएको भन्दै काउन्सिलले यसमा विद्युतीय अपराधसम्बन्धी कानुन आकर्षित हुने बताएको छ।
काउन्सिलले निर्वाचन स्वच्छ बनाउने काममा सम्पूर्ण सञ्चारमाध्यम, आम पत्रकार, सञ्चारकर्मी र समाजिक सञ्जालका प्रयोगकर्तालाई सघाउन पनि ध्यानाकर्षण गराएको विज्ञप्तिमार्फत जनाएको छ ।
केही दिनअघि मात्रै काउन्सिलले मौन अवधिमा कुनै सञ्चारमाध्यम वा पत्रकारले आचारसंहिताविपरीत निर्वाचन प्रभावित हुने समाचार लेखेमा २४ घण्टाभित्र कारबाही गर्ने चेतावनी पनि दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।