काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार अब मंसिर ६ गते (मंगलबार) मात्रै हुने भएको छ। साप्ताहिक कारोबारअनुसार (शुक्रबार) भने शेयर बजार बन्द रह्यो।
शनिबार, आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले शेयर कारोबारसमेत बन्द हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ। मंसिर ४ गते आइतबार प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ। सरकारले निर्वाचनलाई केन्द्रमा राखेर ४ र ५ गते बिदा सार्वजनिक बिदा दिएको छ। त्यसकारण शेयर कारोबार पनि ती दिनमा नहुने भएको हो।
पछिल्ला दिनमा निर्वाचनको माहोल बढ्दै जाँदा त्यसको सकारात्मक प्रभाव बजारमा परेको थियो। वैदेशिक मुद्राको सञ्चितिमा वृद्धि भएको, शोधनान्तर नाफामा रहेको तथा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार भएलगायतका कारणले पनि मुलुकको अर्थतन्त्रमा सुधार भएको छ।
त्यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको हो। मंसिर १ गते बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ५७ अङ्कले उकालो लागेर १९३६.८३ मा पुगेको थियो। बिहीबारको कारोबारपछि बजार पूँजीकरण २७ खर्ब ८६ अर्ब दुई करोड ३४ लाख ५१ हजार ३८७ रुपैयाँ बराबर रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।