काठमाडौं– असोज मसान्तसम्म सोधनान्तर स्थिति सकारात्मक रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ। समीक्षा अवधिमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८७ अर्ब ७१ करोड रुपैयाँले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७४ करोड १२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ९ करोड १८ लाखले बचतमा रहेको छ।
यता समीक्षा अवधिमा चालु खाता ३४ अर्ब २८ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ४९ अर्ब ८१ करोड रुपैयाँले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २७ करोडले घाटामा रहेको छ।
यसैगरी, समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३४.८ प्रतिशतले वृद्धि भई २ अर्ब ५९ करोड रुपैयाँ कायम भएको छ। खुद प्रत्यक्ष वैदेशिक लगानी ८ करोड रुपैयाँ प्राप्त भएको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर एक अर्ब ९२ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ७ करोड रुपैयाँ रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।