काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आसन्न निर्वाचनपछि मुलुकको अर्थतन्त्र सबल बनाउनसक्ने सरकारको खाँचो रहेको बताएका छन्। उनले आसन्न निर्वाचनपछिको सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने र पूर्वाधारको विकास गर्नसक्ने अजेन्डालाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन्।
निजी क्षेत्रका ठूला छाता संगठन नेपाल उद्योग वाणिज्य संघ र नेपाल उद्योग परिसंघले मंसिर ४ गतेको निर्वाचनपछि बन्ने सरकारको प्रमुख अजेन्डा आर्थिक क्रान्ति हुनुपर्ने माग राखेका छन्। सोमबार नेपाल लाइभसंग कुरा गर्दै महासंघका अध्यक्ष गोल्छाले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने राजनीतिक दल निर्वाचित भए देशको आर्थिक अवस्था सुदृढ हुने विश्वास व्यक्त गरे।
उनले नेपालमा राजनीतिक परिवर्तन भएसँगै सबै राजनीतिक दलहरूले आर्थिक समृद्धिका एजेण्डा बोकेपनि आर्थिक समृद्धिलाई बोलीमा मात्रै सिमित गरेको आरोप लगाए। उनले मंसिर ४ गतेको चुनावमा सबै पार्टीहरुको घोषणापत्रसमेत आर्थिक समृद्धिका कुरा विशेष जोड दिएको बताए।
अध्यक्ष गोल्छाले मुलुकमा आर्थिक समृद्धि र निजी क्षेत्रसँगको सहकार्य कसरी गर्ने भन्ने विषयमा कुनैपनि पार्टी गम्भीर नभएको बताए। उनले पूर्वाधारको विकासले मात्रै मुलुकमा आर्थिक समृद्धि ल्याउन सक्ने दाबी गरे।
निजी क्षेत्रसँगको सहकार्यमा जोड
अध्यक्ष गोल्छाले राजनीतिक दलहरू सीमित राजनीतिक अजेन्डाहरूमा मात्रै नभइ त्यसभन्दा माथि उठेर पूर्वाधार विकास गर्ने र निजी क्षेत्रसँगको सहकार्यलाई विशेष जोड दिने पार्टीको सरकार आवश्यक भएको बताए।
‘राजनीतिक परिवर्तन भएसँगै सबै राजनीतिक दलहरूले आर्थिक समृद्धिकै कुरा गरेका छन्। तर त्यो बोलीमा मात्रै सीमित रह्यो। मुलुकमा आर्थिक समृद्धि कसरी गर्ने र निजी क्षेत्रसँग कसरी सहकार्य गर्ने यो विषयमा कुनैपनि पार्टी गम्भीर देखिएन’, उनी भन्छन्।
मंसिर ४ को चुनावमा सबै पार्टीको घोषणापत्र हेर्दा आर्थिक समृद्धिका कुरा सबैले गरेको गोल्छाले बताए।
‘हामीले चाहेको त्यही हो । राजनीतिक परिवर्तन जति हुनुपर्ने थियो। त्यो भइसकेको छ। जुन निजी क्षेत्रलाई विश्वासमा लिएर जुन पार्टी अगाडि जान्छ यस्तो पार्टी नेतृत्वमा आउनुपर्छ। नेपालको राजनीति लामो समय लोकप्रिय नारामा मात्रै सीमित रह्यो। आर्थिक विकासका लागि पूर्वाधारमा लगानी गर्नुपर्ने थियो । तर, पूर्वाधारमा लगानी गर्नसकेको छैन’, उनले भने।
पूर्वाधारको विकासले मात्रै मुलुकमा आर्थिक समृद्धि ल्याउन र लागत कम गर्नसक्ने गोल्छाको बुझाइ छ। त्यसले मात्रै समग्र जनतालाई मुलुकको अर्थतन्त्रसँग जोड्नसक्ने उनले बताए।
‘तर, त्यतातिर कसैको ध्यान नै पुग्न सकेको छैन। राजनीतिक दलहरूसँग सीमित अजेन्डा रहेका छन्। अबको समयमा योभन्दा माथि उठेर जुन पार्टीले पूर्वाधारलाई पहिलो अजेन्डा बनाउन सक्छ। साथै, निजी क्षेत्रसँग सहकार्य गरेर जुन पार्टीले मुलुकलाई आर्थिक रुपले समृद्ध बनाउन सक्छ, त्यो पार्टी सरकारमा आउनुपर्छ भन्ने हामी निजी क्षेत्रको अपेक्षा हो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।