काठमाडौ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जनयुद्धका नाममा कपालमा जेल लगाउँदै कुखुराको साँप्रासँगै झोल खाएर नेता भएको टिप्पणी गरेका छन्।
चुनावी सभालाई सम्बोधनका लागि कालीकोट पुगेका अध्यक्ष ओलीले अध्यक्ष दाहालमाथि यस्तो टिप्पणी गरेका हुन्। उनले जहिले पनि मान्छे उचालेर सहिद बनाउने अनि नहेर्ने प्रवृत्ति माओवादीमा देखिएको आरोप लगाए।
कांग्रेससँग लागेर जनता रुवाएर आफ्ना मान्छेलाई पोस्ने काम प्रचण्डले गरेको ओलीको भनाइ छ। प्रचण्ड कालीकोट पुगेका बेला केपी ओलीले प्रतिगमन गरेको भन्दै झुट बोलेकोसमेत ओलीले बताए।
प्रचण्डसँगै ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको पनि आलोचना गरेका छन्। उनले भने, ‘शेरबहादुर देउवाको त के कुरा। माघ १९ सबैलाई सम्झना होला। अहिले पनि उहाँले लोकतन्त्र कता लगेर बुझाउनुहुन्छ।’
माओवादी पार्टी सिद्दिन लागेका बेला एमालेले औंलो दिएर प्रत्यक्षमा ३६ सिट जितेको ओलीले जिकिर गरे। सिद्दिन लागेका प्रचण्डलाई पार्टीभित्र आफू नै अल्पमतमा पर्नेगरी विश्वास आफूले गरेको तर बहुमत पाएपछि आफूमाथि नै खनिन थालेको बताए।
उनले प्रचण्डलाई मुसासँग तुलना गरेका छन्।
माओवादीले दक्षिण शक्तिसँग मिलेर सरकार बनाउन कोशिस गरेको ओलीले आरोप लगाए। संविधान, संघीयता र लोकतन्त्र जोगाउने किन नजोगाउने भन्ने प्रश्न अहिले खडा भएको ओलीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।