काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरलाई डोटीबाट टिकट नपाएकोप्रति व्यङ्ग्य गरेका छन्।
शनिबार डोटीको दिपायलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘नेपाली कांग्रेसका उम्मेदवार, जो नेपाली कांग्रेसको राजनीति जिन्दगीभरी गरेर आए। तीनलाई तल कैलालीतिर। कैलालीमा गएर के गर्ने? थारु गाउँमा, थारु भाषा आउँछ ? त्यो जित्न पठाएको हो र? गलहत्याएर ओरालो तिर बगाइदिए। त्योदेखि तपाईंहरु नेपाली कांग्रेसलाई बगाएर आफू उभिन खोज्ने, त्यस्तालाई भोट दिनुहुन्छ?’
उनले नेकपा एमालेलाई मतदान गरे मात्र देशको विकास हुने बताए। उनले पश्चिम सेतीजस्ता आयोजना र स्तरीय उपचार पाउने अस्पतालको विकास एमाले नेतृत्वको सरकारले मात्र गर्न सक्ने दाबी गरे।
अध्यक्ष ओलीले नाकाबन्दीको सामना आफू एक्लैले नभई सम्पूर्ण नेपाली जनताले गरेको बताए। यस्तै संविधान संशोधन पनि आफू एक्लैले नभई सबै सांसदहरुले गरेको उल्लेख गरे।
उनले भने, ‘प्रचण्ड र शेर बहादुरजीले सल्लाह गरेर केपी ओली एक्लैले संविधान संशोधन गर्या हो भन्नुभयो। मैले कहाँ एक्लै हुन्थ्यो। संसद्का सबै सदस्यहरुको सर्वसम्मतिले संशोधन गर्या हो। बाध्यता सबैलाई भयो। सबैले गर्नैपर्यो,’ उनले भने, ‘म एक्लैले नाकाबन्दीको सामना गरेको होइन, नेपाली जनताले गरेका हुन्। त्यसको सन्दर्भमा चुइक्क बोल्न नसक्नेले हामीले सामना गरेको कुराको विरोध पनि गर्न सकेनन्। चुप लागेर बसे।’
उनले नेपाली कांग्रेसका कार्यकर्ताहरुले पहिला चितवनमा मात्र भोट हाल्न नपाउने अवस्था रहेको र अब देशैभरी भोट हाल्न नपाउने भए भन्दै व्यङ्ग्य गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।