काठमाडौं- खानेपानीको अभाव रहेको सहर धरान पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशीको पानी ल्याउने आश्वासन दिएका छन्। उनले छेउको खोलामा पनि बग्ने गरी पानी ल्याउने बताए।
‘अलिकति सर्वे गर्नुपर्छ। टनेलबाट (कोशीको) पनि पानी ल्याउन सकिन्छ कि, मेलम्ची जस्तो। त्यो पनि हेर्नुपर्ने हुन्छ। त्यो सर्वे पनि हामी गराउँछौं। चाहे डाँडो कटाएर होस्, चाहे डाँडो छेडेर होस्। जसरी भए पनि धरानलाई पानी पर्याप्त पुग्ने गरी हामी गर्छौं। पानी खुवाउँछौं। पानी खुवाउँछौं मात्रै होइन, यहाँ तपाईंहरु छेउका खोलाहरु बग्ने गरी, कहिल्यै पनि सुखा खोला भए भन्नु नपर्ने गरी पानी आउँछ। त्यसकारण त्यसमा चिन्ता नगर्नुस्’, उनले भने।
उनले धरानका मेयरले खानेपानी ल्याउन नसक्ने भन्दै ठूलो योजना र बजेट चाहिने बताए। ‘अब यहाँका मेयरलाई ‘खानेपानी ले’ भनेर, कतिवटा घैला बोकुन्, विचरा! कसको घरमा खानेपानी पुर्याउन्। यहाँ त राष्ट्रिय बजेट, राष्ट्रिय योजना चाहिन्छ। नेकपा एमालेको सरकार चाहिन्छ’, उनले भने।
त्यसै क्रममा उनले मेयरका रुपमा साम्पाङ छानेकोमा पनि कटाक्ष गरे। ‘छान्ने बेलामा आँखा देख्नुभएन, अहिले भनेर हुन्छ?’ भन्दै उनले मंसिर ४ आइसकेका अब ढुक्क हुन आग्रह गरे।
‘पम्पिङ गरेर कोशीबाट पानी ल्याएर धरानलाई पानी खुवाउँछ, एमालेले। तपाईंहरु ढुक्क हुनुस्’, ओलीको भनाइ थियो, ‘त्यसपछि हामी आयोजना सुरु गर्नेछौं। काम अगाडि बढाउनेछौं, स्थायी ढंगले। त्यत्रो कोशी त्यहाँ नजिकैबाट बग्छ, धरान काकाकुल हुने, कसरी मिल्छ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।