काठमाडौं– विशेष अदालतले गरेका फैलामा गरिएको टिप्पणीका कारण विवादमा आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो टिप्पणीप्रति स्पष्ट पारेको छ।
कानुन व्यवसायी र सर्वोच्च अदालतका न्यायाधीशले समेत अख्तियारको टिप्पणीप्रति असन्तुष्टि जनाएका थिए। बुधबार सर्वोच्च अदालतको पूर्ण बैठकमा न्यायाधीशहरुले अख्तियारले संवैधानिक सीमा नाघ्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
नेपाल बार एसोसिएसनले बिहीबार पत्रकार सम्मेलन नै गरेर अख्तियारको टिप्पणीप्रति असन्तुष्टि व्यक्त गरेको थियो। विशेष अदालतबाट भएका फैसलाप्रति लक्षित गर्दै अख्तियाबाट भएको टिप्पणी खेदजनक भएको बारको भनाइ थियो। फैसला आफू अनुकूल हुनुपर्ने भन्ने आशयका साथ अख्तियारबाट भएको टिप्पणी गलत भएको पनि बारको भनाइ थियो।
घुस/रिसवतसम्बन्धी १०४, राजस्व चुहावटसम्बन्धी १, झुटा बिल भर्पासम्बन्धी ४, गैरकानुनी सम्पत्ती आर्जनसम्बन्धी १, सार्वजनिक सम्पत्ति हानीनोक्सानीसम्बन्धी १ र गैरकानुनी लाभ तथा हानीसम्बन्धी ३ गरी ११४ वटा मुद्दामा विशेष अदालतले सुनाएको फैसलामा चित्त नबुझेर अख्तियारले सर्वोच्चमा पुनरावलोकन गर्ने निर्णय गरेको थियो।
मुद्दाहरुको पुनरावलोकनका सन्दर्भमा गरिएको टिप्पणीमा अख्तियारले अदालतबाट मिसिल नै अध्यन नभएको, प्रतिवादी (विपक्षी)ले पेस गरेका विषयलाई मात्रै प्रमाणको रुपमा ग्रहण गरेकोजस्ता विषय उठाएको थियो।
उक्त टिप्पणीप्रति न्यायिक क्षेत्रबाट तीव्र आलोचना भएपछि अख्तियारले अदालतप्रति अनास्था फैलाउने उद्देश्य नभएको भन्दै आफ्नो विज्ञप्तिबारे स्पष्टीकरण दिएको हो।
‘चालु आर्थिक वर्षमा हालसम्म सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरुको बारेमा पुनरावेदन गर्दा लिइएका आधारहरुको सम्बन्धमा आयोगबाट मिति २०७९/०७/२२ मा जारी गरिएको प्रेस विज्ञप्ति र जानकारीमूलक विवरणका सम्बन्धमा आयोगबाट असल मनसायका साथ गरिएको थियो,’ अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो विपरीत सार्वजनिक निकायहरुबीच भ्रम सिर्जना र द्वन्द्व निम्त्याउने प्रकृतिबाट भएको सम्प्रेषणतर्फ आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।’
आयोगले आफूहरुको विज्ञप्ति मुद्दाको विवरण र चित्त नवुझे सर्वोच्चमा पुनरावेदन गर्न पाउने कानुनी बारे मात्र भएको भन्दै स्पष्टीकरण दिएको छ।
‘अदालतको निर्णयको सम्मान गर्दै आयोग न्यायिक स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको, सम्मानित अदालतको गरिमाप्रति अनास्था फैलाउने विषय कल्पनासम्म पनि गर्न सकिँदैन,’ विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।