भदौको महिना। वर्षा ऋतु मैजारो हुने बेला। शरदको आरम्भ हुने याम।
पहाडमा चिसोको उपस्थिति बाक्लिन थाले पनि तराईमा गर्मीले आफ्नो उपस्थिति मजबुत नै राखेको थियो। उसो त महाकाली किनार, चाँदनी–दोधारा, गड्डाचौकी, महेन्द्रनगर घुम्दा शरीरले उखुम् प्रतिक्रिया जनाइरहेको थियो। कायालाई शीतल छायाँको सख्त जरुरत थियो।
घडिले साढे १ बजाइसक्यो। हामी अब कहाँ जाने त ? राजेन्द्र दादा फ्याट्ट सुनिए। जहाँ गएनि जाउँ, तर शीतल ठाउँमा जाउँ। मेरो प्रतिकृया आयो।
डडेलधुराको आलिताल घुम्ने हाम्रो योजना तुहिएको थियो। ताल नै जाउँ न त। थप बोलेँ। प्रशान्त दादाले फनक्क बाइक मोडे। बेदकोट जाने अब। उनी सुनिए। म उनलाई फलो गर्दै पूर्वपश्चिम हाइवेमा बतासिएँ। बीच सडकमा निर्धक सुतिरहेका छाडा चौपायाले झसङ्ग बनाइ नै रहे।
नेपाल–भारत सीमा क्षेत्र, गड्डाचौकी। जहाँ नेपाली झण्डा फरफराइरहन्छ। भासी, लालपुर, सुडा हुँदै दैजी आइपुग्यौं। यहाँबाट हामी उत्तरतिर मोडियौं। केहीबेर छाडा चौपाया, सवारी चाप, मान्छे र बस्ती छिचोल्दै घना जंगलभित्र पस्यौं।
केहीबेर जंगलको यात्रा गरेपछि दैजी–जोगबुढा सडकबाट बायाँ मोडियौं। एउटा छाप्रो र सत्तल, ठूल्ठूला रूखहरूको बीचमा उभियौं। सत्तलको आगनमा बाइकहरू रोक्यौं। कोही किनारामा उभिएर, कोही साल, सिसौँका रुखहरूमा बसेर हामीलाई मधुर ध्वनीले स्वागत गर्न थाले, राता बाँदरहरू। घना जंगलबीच अगाडि ठूलो पानीको कुण्ड देखियो। बेदकोट ताल!

बेदकोट ताल:
यो ताल सुदूरपश्चिम प्रदेशको सीमावर्ती जिल्ला कञ्चनपुरमा पर्दछ। सदरमुकाम महेन्द्रनगरदेखि २० किलोमिटर टाढा पर्दोरहेछ। महेन्द्र राजमार्गको दैजी चौराहाबाट १३ किलोमिटर टाढा। यही तालको नामबाट साबिकका दैजी र सुडा गाविसलाई गाबेर बेदकोट नगरपालिका बनाइएको रहेछ। यो ताल बेदकोट नपा वडा नम्बर ३ मा पर्दो रहेछ।
समुद्र सतहदेखि झण्डै ३०० मिटर उचाइमा रहेको यो तालको क्षेत्रफल ५८० मिटर लम्बाइ, २६० मिटर चौडाइ र १५.८५ मिटर गहिराइ रहेको बताइन्छ।

तालमा थरीथरीका माछाहरू भएता पनि मार्ने गरिँदैन रे। घना जंगलको बीचमा अवस्थित यो तालको पानी कंचन नै देखियो। तालको सतहमा पातहरू देखिएनन्। देउताको शक्तिका कारण पातहरू नहुने किम्बदन्ति रहेछ।
हामी तालको वरिपरि एक फन्को हान्ने योजना मुताबिक हिड्यौं। मन्दिर ठडियो। ढुङ्गाले बनेको चौतारोमा विशाल पिपलको शीतलतामा सुस्तायौं निकै बेर। हामिले फन्को मारेनौं। प्रशान्त दादालाई असहज महसुस भएको थियो। राजेन्द्र दादाले दाहिने हत्केलाको पञ्जा प्रशान्त दादाको निधारमा राखे। ज्वरो रैछ। ज्वरो उतार्ने पुरातन विधि राजेन्द्र दादाले तत्काल लागु गरे। एकछिन हाँसो छायो।
हामी तालकै अग्रभागमा फर्कियौं। राजहाँस देखियो तालमा। उसको उडान, अवतरण, पौडाइ र चराइलाई निकै बेर नियालेँ मैले।

नजिकैको मन्दिर शिवको रहेछ। सिद्ध–बैजनाथ बाबाको मन्दिर पनि भनिदो रहेछ। मन्दिरमा विवाह, ब्रतबन्ध जस्ता कर्मकाण्ड पनि हुने रहेछन्।
थरिथरिका पुतलीहरू, फूलहरू, विभिन्न चराचुरुङ्गीको चिरविर, बाँदरको चिरविर, हरिया चुरे पर्वत, घना जंगलले निकै सुन्दरता भरेको पाइयो तालमा।

सुदुर पश्चिमकै धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलका रुपमा परिचित हुँदै गैरहेको रहेछ ताल र यस वरपरको क्षेत्र। तालबारे थरिथरि किम्बदन्ति रहेछन्।
तालको रेखदेख गरिरहने बझाङतिरका जट्टावाल बाबा त्यहीँ बस्दा रहेछन्। उनीसँग निकै बेर भलाकुसारी भयो। एउटा ज्याद्रो बाँदरदेखि, राजहाँससम्म, उनको जीवन भोगाइदेखि ताल बारेका किम्बदन्तिसम्म। उनी खुलेर प्रस्तुत भए।
पाण्डवहरूको वनबासकालीन समयमा १ वर्ष यहीँ विताएका थिए। उनीहरूले पानीका लागि यो ताल बनाएका थिए भन्ने किम्बदन्ति पनि रहेछ। पाण्डवहरुले बेदधुनि जगाएकाले यो क्षेत्रको नाम बेदकोट रहेको भन्ने पनि भनाइ रहेछ।

परापूर्वकालमा बेदकोट क्षेत्रमा आइ माघ शुक्ल दशमीका दिन रात्री समयमा पूजा गरियो। पूजापछि ब्राह्मणले खाना पकाएर सबै भक्तालुलाई खुवाए। तर ब्राह्मणलाई पुगेन। ब्राह्मण भोकै सुत्न लाग्दा उनको शिरानीबाट पानीको मुहान फुट्यो। त्यहि मुहान बेदकोट नामले प्रचलित बनेको अर्को किम्बदन्ति पनि सुनियो।

तराईको उखरमाउलो गर्मीलाई छल्न तथा एकान्तमा रमाउन चाहाने पर्यटकको लागि यो क्षेत्र उत्तम रहेछ। धनगढी, महेन्द्रनगर तथा छिमेकी देश भारतका बनबासा, टनकपुर, खटिमा लगायतका विभिन्न ठाउँबाट भ्रमण तथा पूजापाठ गर्ने उद्देश्यले मानिसहरू आउँदा रहेछन्।
६० फिट अग्लो भ्यू टावर बनाइएको रहेछ, जहाँबाट ताल, बेदकोट छेत्र, चुरे पहाड र कञ्चनपुर र कैलालीका विशाल फाँटहरूको अवलोकन गर्न सकिने रहेछ।

यस क्षेत्रका मन्दिरहरूमा रहेका पुरातात्त्विक महत्वका मुर्तिहरू चोरी पैठारी भएको भन्ने पनि सुनियो।
घडीको सुइले ४ बजाइसकेको थियो। चर्को सूर्य शीतल भइरहेको थियो। उसको यात्रा पश्चिमी डाँडातिर लम्किरहेको थियो। हामीलाई फर्कनु थियो। जट्टावाल बाबासँग सेल्फी हानेर हामि जोगबुढा–दैजी मार्ग हुँदै महेन्द्र राजमार्गमा मिसियौं।

अत्तरिया आइपुग्दा हामीलाई चर्को हुरी र बतासे पानीले पछ्याइसकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।