मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काभ्रे- २ बाट नेपाली कांग्रेसका नेता शिव हुमागाईं मैदानमा छन्। हुमागाईंको प्रतिस्पर्धा नेकपा एमालेका नेता गोकुल बास्कोटासँग हुँदैछ।
२०५६ सालको निर्वाचनमा काभ्रेबाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुमागाईं यतिबेला घरदैलो अभियानमा व्यस्त छन्।
सत्ता गठबन्धनका साझा उम्मेदवार हुमागाईंसँग निर्वाचनको तयारी र मतदातामाझ प्रस्तुत गरेका अजेण्डा लगायतका विषयमा नेपाल लाइभका भूपेन्द्र शाह ठकुरीले गरेको कुराकानी: 
तपाईं आफ्नो राजनीतिक यात्रा, उद्देश्य र मान्यतालाई जनतासामु कसरी प्रस्तुत गर्नुहुन्छ?
जनताको खोसिएको अधिकार स्थापित गर्ने र जनतालाई सार्वभौम बनाउने उद्देश्यका साथ म राजनीतिमा होमिएको हुँ। मैले जहिलेदेखि राजनीति सुरु गरें, मूल्य-मान्यता, निष्ठा, त्याग र सिद्धान्त छोडेको छैन। यही निष्ठा र मूल्यको राजनीतिलाई अगाडि बढाउने क्रममा फेरि एक पटक जनताको घरदैलोमा पुगिरहेको छु।
घरदैलो अभियानका क्रममा मतदाताहरु समक्ष पार्टीगत र व्यक्तिगत रुपमा कस्ता अजेन्डा प्रस्तुत गरिरहनुभएको छ?
२००७ सालदेखि २०६२/०६३ सम्मका आन्दोलन र क्रान्तिबाट प्राप्त उपलब्धिहरुको संस्थागत विकास र जर्गेना गर्ने, जनताले बनाएको संविधानको रक्षा र संस्थागत विकास गर्ने तथा शान्ति र स्थिरता कायम गरेर मुलुकलाई समृद्धिको बाटोमा डोर्याउने अभियान र अजेण्डाका साथ हामीहरु राजनीतिमा हिँडिरहेका छौं। 
तपाईं २०५६ को निर्वाचनमा निर्वाचित भइसकेपछि निष्क्रिय हुनुहुन्थ्यो, अहिले एक्कासि चुनावमा सक्रिय हुनुभयो भन्ने आरोप छ। यस विषयमा के भन्न चाहनुहुन्छ? 
त्यो विपक्षीले लगाएको आरोप मात्र हो। म निरन्तर रुपमा जनताका बीचमा छु। हरेक आन्दोलनमा सक्रिय छु। हरेक सम्मेलनमा छु। कोभिड महामारी आउँदा काभ्रे जिल्लाका सबै पालिकामा राज्यले स्वास्थ्य सामग्री पुर्याउन नसक्दा संस्थागत रुपमा मैले पुर्याएको छु। भूकम्प आउँदा सबैको घरदैलोमा पुगेको छु।
म २०५६ सालको निर्वाचनपछि पनि दुई चोटी पार्टीको जिल्ला सभापति भएँ। पार्टी सभापति रहेको व्यक्ति निष्क्रिय भयो भनेर कसले भन्यो तपाईंलाई? यो गलत आरोप हो।
तपाईंको चुनाव जित्ने आधार के छ? स्थानीय तहको मत परिणामलाई कसरी विश्लेषण गर्नुहुन्छ?
स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनको मत एमालेको भन्दा १६ हजार बढी छ। मैले चुनाव जित्ने पहिलो आधार यही हो।
दोस्रो, म काभ्रेको राजनीतिमा निरन्तर जनताको साथमा छु। जनताको सुख-दु:खमा सँगै छु। जनताका काममा क्रियाशील छु। जसले गर्दा जनताको, मतदाताको अपार माया पाएको छु।
तेस्रो, मैले २०५६ सालमा निर्वाचन जितिसकेपछि काभ्रेमा पहिलो पटक विकासको बहस प्रारम्भ भएको हो। मैले काभ्रेका गौरवका योजनाहरु सम्पन्न गरेको छु। म जे बोल्छु, त्यही गर्छु। यो मेरो संस्कार र संस्कृति हो। त्यस कारण यो पटकको जित हाम्रो हो। लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारका रुपमा प्रस्तुत भएका कारणले पनि हाम्रो जित सुनिश्चित छ। 
विपक्षी उम्मेदवारप्रति तपाईंको मूल्यांकन के छ? कत्तिको चुनौती महसुस गरिरहनुभएको छ? 
विपक्षीले आफ्ना पूर्णकालीन कार्यकर्ता, पार्टीका साथीहरुको विश्वास लिनु स्वभाविक हो। उहाँहरुले काभ्रे जिल्लाका आमनागरिक समाज, स्वतन्त्र मतदाता, बुद्धिजीवी, किसान, मजदूर, सबै जातजाति, धर्म, लिंग र सम्प्रदायको मत लिन सक्ने सम्भावना छैन।
निर्वाचन जित्नुभयो भने संसदमा तपाईंको भूमिका कस्तो हुन्छ? कस्ता मुद्दाहरु संसदमा उठाउनुहुन्छ? 
म सांसद भएर आएपछि निरन्तर संसदमा जनताका आवाज बुलन्द गर्छु। संविधानको सर्वोच्चता, संविधानको रक्षाको निम्ति क्रियाशील रहनेछु। गणतन्त्रात्मक शासन पद्धतिको संस्थागत विकासका लागि मेरो क्रियाशिलता हुनेछ र मुलुकलाई समृद्धिको बाटोमा लैजान पहल गर्नेछु। राजनीतिमा देखिएका केही विकृति-विसंगतिको अन्त्यका लागि म सशक्त भएर लड्नेछु। यिनै हुन् मेरा अजेण्डा। 
काभ्रे जिल्लाभित्र केही राजनीतिक अजेण्डा छन्। केही विकासका अजेण्डा छन्। भोलिको समृद्ध काभ्रे बनाउनका लागि म निरन्तर क्रियाशील रहनेछु।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।