काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले संविधानको कुनै पनि धारा उल्लंघन नगरेको दावी गरेका छन्। सोमबार कास्कीको पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले उक्त कुरा बताएका हुन्।
उनले भने, ‘हामीले संविधानको कुनै पनि धारा उल्लंघन गरेका छैनौं। उहाँहरुले संविधानमा हुँदै नभएका, कुनै धारा, उपधारा केही पनि नभएको व्याख्याको नाममा संविधान संशोधन गर्ने काम गर्नुभयो। त्यसलाई सच्याउनुपर्छ।’
नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनबाट एमालेले एकल सरकार बनाउने दाबी समेत गरे। ‘नेकपा एमाले कांग्रेसको हाराहारीमा होइन, अत्यधिक मतले कांग्रेसभन्दा अघि हुन्छ, एकल बहुमतका साथ एकल सरकार बनाउँछ,’ ओलीले भने।
एमाले अध्यक्ष ओलीले देशमा प्रगतिशील काम भइरहेको अवस्थामा बहुमतको सरकार ढालेको आरोप लगाए। दक्षिणपन्थीको नेतृत्वमा भ्रष्ट सरकार बनाएको आरोप लगाउँदै उनले प्रतिगामी काम गठबन्धनले गरेको दावी गरे। लोकतन्त्रको रक्षा, स्वाभिमानको रक्षा र संविधानको रक्षाका लागि नेकपा एमालेले जित्नु आवश्यक रहेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।