काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङ जिल्लामा जलवायु अनुकूलन हुनेगरी पूर्वाधार विकास र सामाजिक क्रियाकलाप सञ्चालन गर्न अनुरोध गरेकी छन्।
शुक्रबार मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान विष्णुको मूर्ति शिलान्यास र बुद्धको मूर्ति अनावरण गर्दै राष्ट्रपति भण्डारीले उक्त कुरा बताएकी बताएकी हुन्।
उनले मुस्ताङमा निर्माण हुने संरचना र अन्य कार्यहरु वातावरणमैत्री बनाउन आग्रह गरिन्। मुस्ताङबासीको दैनिक जनजीवन पनि जलवायु अनुकूलन र वातावरणमैत्री बनाउँदै लैजानुपर्ने आवश्यक्ता रहेको भण्डारीले उल्लेख गरिन्।
राष्ट्रपति भण्डारीले अहिलेको राम्रो काम भावी पुस्तालाई उपहार हुने भएकाले सबैले सचेत भएर काम गर्नुपर्ने बताइन्। उनले जलवायु अनुकूलन र वातावरणमैत्री व्यवहारका लागि अर्थ प्रणालीमा पनि सुधार गरेर जानुपर्ने आवश्यक्ता औंल्याइन्।
‘मुस्ताङबासी समाजसेवी, उद्योगी र प्रशासकहरुलाई एउटा आग्रह छ, यो जिल्लालाई जलवायु अनुकूलन हुनेगरी यहाँको पूर्वाधार विकास र सामाजिक क्रियाकलापहरु सञ्चालन गर्न आवश्यक छ,’ भण्डारीले भनिन्।
राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्र एवं मुक्तिनाथ मन्दिरलाई व्यापक धार्मिक तथा पर्यटकीय केन्द्रको रुपमा विकास गर्न आवश्यक रहेको बताइन्। उनले धार्मिक तथा प्राकृतिक सम्पदाहरुको संरक्षण गर्दै भावि पुस्तामा समेत प्राकृतिक सुन्दरतालाई हस्तान्तरण गर्ने उद्देश्य हुनुपर्ने बताइन्।
ऐतिहासिक सम्पदाको संरक्षणका लागि आवश्यक पूर्वाधारको विकासमा संघ, प्रेदश र स्थानीय सरकारको समन्वयकारी भुमिका आवश्यक रहेको राष्ट्रपति भण्डारीले उल्लेख गरिन्।
मुस्ताङको कोरला नाकाले मित्रराष्ट्र चीनसँगको व्यापार व्यवसाय गर्न सहज हुने भएकाले उत्पादनको सहज बजार र दुई देशबीचमा स्थलमार्ग हुँदै व्यापार बिस्तारको नयाँ सम्भावना खोल्ने भण्डारीले उल्लेख गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।