काठमाडौं– राधा पौडेलद्वारा लिखित किशोर उपन्यास ’मारियम मान्छे भई’ बजारमा आएको छ। नेपालमा ’मर्यादित महिनावारी’को अवधारणा सुरुवात गरेकी लेखकले ’राधा पौडेल फाउन्डेसन’मार्फत महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी छिन्।
’मारियम मान्छे भई’ एक मुस्लिम किशोरीको कथा हो। निम्नमध्यम वर्गीय नेपाली समाजमा छोरीहरूले गर्नुपर्ने संघर्ष र भोग्नुपर्ने भुक्तमान उपन्यासको मूल विषय रहेको छ। पुस्तक मासिक रजस्वलाका कारण उसले नियमित रुपमा खुम्चनु परेको कथाको पेटारो रहेको प्रकाशक सांग्रिला बुक्सले बताएको छ।
’प्रकृतिले पुरुषभन्दा भिन्न बनाइदिएका कारण मान्छे हुन नपाएको बृतान्त पनि हो। यहाँ मारियमको व्यथामात्रै पनि छैन। मान्छे बन्नका लागि उसले गरेका विद्रोहको फेहरिस्त पनि छ। समग्रमा मारियम मान्छे बन्न सकेको कथा हो यो’, सांग्रिला बुक्सले भनेको छ।
यो पुस्तकका बारेमा लेखक पौडेल भन्छिन्, ’मारियम मात्र होइन, तपाईं, तपाईंको पुस्ता, दरपुस्तालाई मान्छे भएर बाँच्नका लागि यो पुस्तक एक अपरिहार्य क्याप्सुल सावित हुनेछ भन्ने अपेक्षा गरेको छु।’
नेपालमा किशोरपाठक लक्षित पठन सामग्री असाध्यै कम रहेको सन्दर्भमा किशोरवयका पाठकलाई लक्षित गरी उनीहरूकै मनोभावनामा आधारित पुस्तक प्रकाशन गर्ने लक्ष्यअनुरुप यो पुस्तक प्रकाशन भएको सांग्रीला बुक्सले बताएको छ। यसअघि सांग्रीला बुक्सबाट राधा पौडेलको बाल्यकालीन संस्मरण ’रोल नम्बर एक’ र अनुदित पुस्तक ’सर्जिकल राजोनिवृत्ति’ पनि प्रकाशित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।