काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मुस्ताङ भ्रमणमा जाने भएकी छन्। राष्ट्रपति भण्डारीले प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।
राष्ट्रपति शुक्रबार बिहान ८ बजे मुक्तिनाथ आइपुग्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। ‘मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक भएर राष्ट्रपति भोलि नै फर्कनुहुन्छ,’ प्रजिअ शर्माले भने, ‘राष्ट्रपतिको भ्रमणलाई सुव्यस्थित बनाउने तयारीमा हामी जुटेका छौँ।’
मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि राष्ट्रपतिले उद्घाटन गर्ने जनाइएको छ। राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको प्रजिअ शर्माले बताए। राष्ट्रपति भण्डारीले गत वर्ष कात्तिकमा पनि मुक्तिनाथमा पूजाआजा गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।