काठमाडौं– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अजेन्डा अघि सारेको छ। बिहीबार सार्वजनिक सो पार्टीको वाचा–पत्रमा पार्टीले प्रधानमन्त्री थप शक्तिशाली हुने खालको अजेन्डा प्रस्तुत गरेको हो।
राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले फरक अजेन्डा प्रस्तुत गरेको छ।
’कुनै पनि राजनीतिक दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको वंशज नेपाली नागरिक हुनुपर्ने’, राष्ट्रपतिको सन्दर्भमा पार्टीको अजेन्डा छ, ’वडाध्यक्षदेखि संघीय संसदसम्म सम्मिलित बृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति निर्वाचित हुने।’
राष्ट्रिय सभाका अध्यक्ष नै पदेन उपराष्ट्रपति हुने यो पार्टीको अजेन्डा छ। त्यस्तै, जनताद्वारा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुने अजेन्डा पनि प्रस्तुत गरिएको छ। ’मुख्यमन्त्रीले फरक लिंगको उपमुख्यमन्त्री नियुक्त गर्ने’, वाचा–पत्रमा भनिएको छ, ’प्रदेश मन्त्रिपरिषद्का सदस्य हुने र पालिका समन्वयन गर्ने गरी मुख्यमन्त्रीबाट जिल्ला प्रमुख नियुक्त हुने।’
प्रदेश प्रमुख खारेज हुने, प्रदेश प्रमुखबाट गराइने सपथ राष्ट्रपतिबाट गराइने, जिल्ला समन्वयन समिति खारेज हुने र प्रदेश सरकार प्रदेश परिषद्प्रति उत्तरदायी रहने भनिएको छ। वाचा–पत्रमा प्रदेश परिषद् गठनबारे पनि विवरण प्रस्तुत गरिएको छ।
राष्ट्रिय सभामा कम्तीमा ६ वर्ष कुनै पनि दलमा नलागेको व्यक्ति सदस्य हुन पाउने अजेन्डा प्रस्तुत गरिएको छ।
’राष्ट्रिय सभा समावेशी हुनुपर्ने। राष्ट्रिय सभा ३५ सदस्यीय हुने। वडाध्यक्षदेखि प्रतिनिधि सभाका सदस्य सम्मिलित बृहत् निर्वाचन मण्डलबाट राष्ट्रिय सभा सदस्यहरू निर्वाचित हुने’, वाचा–पत्रमा भनिएको छ।
यस्तो छ वाचा–पत्रको पूर्णपाठः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।