काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा अझै ठूलो शक्तिका साथ मिहिनेत गरेर जानुपर्ने बताएका छन्।
बुधबार गोरखा-काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको 'निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम'मा सम्बोधन गर्दै उनले गोरखामा रेकर्डसहित जित निकाल्नुपर्ने बताए।
'माओवादी स्वाट्ट माथि देश र दुनियाँमा देखियोस् गोरखाबाट। गोरखाबाट संसारमा माओवादी देखियोस्', उनले भने, 'गोरखाबाट संसारलाई माओवादी देखाइदिने संकल्प तपाईं-हामी सबैले लिनुपर्छ। साझा संकल्प। यो संकल्प लियौँ भने असम्भव विल्कुलै छैन। सम्भव छ। रेकर्ड बन्छ। गोरखा संसारमा नयाँ ढंगले देखिन्छ।'
उनले कार्यकर्तालाई माओवादीले अन्य कति ठाउँमा जित्ला भनेर 'टेन्सन' नलिन पनि सुझाए। 'त्यो टेन्सन मैले लिएको छु। म सातै प्रदेशमा गएँ। तपाईंहरुले फुर्सद दिनुभयो भने म अरुमा नि जान्छु', उनले भने।
यस्तै प्रचण्डले आफू गोरखाबाट चुनाव लड्नु अवसर हो भन्ने गरिएको भन्दै त्यो चुनौती पनि भएको सुझाए। उनले भने, 'अवसर मात्रै होइन, चुनौती पनि हो तपाईंहरुलाई पनि। झमेला छ प्रचण्ड आउने भनेको। सजिलो चिज कहाँ आएको छ र?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।