पोखरा– अन्तर्राष्ट्रिय स्तरको वैज्ञानिक सम्मेलन ३५ औं हिमालय–काराकोरम–तिब्बत वर्कसपमा सहभागी हुन १६ देशका भूगर्भविद् पोखरामा आएका छन्।
नेपाल भौगर्भिक समाजको आयोजनामा पोखराको होटल पोखरा ग्राण्डीमा कात्तिक १६ गतेबाट १८ गतेसम्म सञ्चालन हुने सम्मेलनमा सहभागी हुन भूगर्भविद् पोखरा आएका हुन्। अमेरिकामा भएको ३४ औं सम्मेलनले ३५ औं सम्मेलन नेपालमा गर्ने निर्णय गरेको थियो। सन् २०२१ मा हुने भनिएता पनि कोरोना भाइरसका कारण एक वर्ष ढिलो हुन पुगेको हो।
उक्त सम्मेलनमा एक सय ५० भन्दा बढी कार्यपत्र प्रस्तुति र १२ वटा विशेष बहसमूलक कार्यक्रम सम्मेलनमा कन्भेनर डाक्टर कविराज पौड्यालले जानकारी दिए। सम्मेलनमा स्वदेशी, विदेशी गरी तीन सयभन्दा बढीको सहभागिता हुने पौड्यालले बताए।
यस्ता अन्तर्राष्ट्रिय स्तरको सम्मेलनले नेपालको विज्ञान प्रविधिको क्षेत्रमा विकास हुनुका साथै नेपालको समग्र पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने विश्वास लिएको कन्भेनर पौड्यालले उल्लेख गरे। सम्मेलनले भू–विज्ञान र इन्जिनियरिङ क्षेत्रका विशेषज्ञहरू, वैज्ञानिकहरू, अनुसन्धानकर्ताहरू, शिक्षाविद्, नीति निर्माता, विद्यार्थी र पेशागत समुदायका व्यक्तित्वहरूबीच नवीनतम् ज्ञान, विज्ञान र प्रविधिका मौलिकताका बारे विचार आदानप्रदान हुने लक्ष्य राखिएको उनले बताए।
सन् १९८५ मा बेलायतको लेस्टर विश्वविद्यालयमा हिमालय क्षेत्रका वैज्ञानिक अनुसन्धानमा संलग्न विश्वभरका भू–वैज्ञानिकहरू जम्मा भई पहिलोपटक हिमालयन कार्यशाला गोष्ठी सम्पन्न गरेका थिए। त्यसपछि दोस्रो, तेस्रो र चौथो सम्मेलन क्रमशः फ्रान्स, बेलायत र इटालीमा सम्पन्न भएका थिए। नेपालमा नेपाल भौगर्भिक समाजले दुईपटक सम्मेलन आयोजना गरिसकेको छ। सन् १९९४ र सन् २०१२ मा २७ औं हिमालय–कारकोरम तिब्बत कार्यशाला आयोजना गरी सफलतापूर्वक सम्पन्न गरिसकेको हो।
सम्मेलनले हिमालय क्षेत्रमा बसोबास गर्ने समुदायमा यस्ता नवीन अनुसन्धानको प्रचारप्रसार हुनु र यस क्षेत्रमा हुने भौगर्भिक प्रक्रियाहरुको सही बुझाइले दिगो विकासमा समेत टेवा पुग्ने नेपाल भौगर्भिक समाजका अध्यक्ष डा. अनन्तप्रसाद गजुरेलले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।