काठमाडौं– अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन रिचार्ड थम्प्सनबीच भेटवार्ता भएको छ।
अर्थ मन्त्रालयमा मंगलबार बिहान भएको भेटमा अर्थमन्त्री शर्माले राजदूत थम्प्सनमार्फत् नेपाललाई संकटका बेला गरेको सहयोगप्रति अमेरिकी सरकार र जनतालाई धन्यवाद दिएका थिए।
‘अमेरिकाले नेपाललाई संकट परेका बेला महत्वपूर्ण सहयोग गर्दै आइरहेको छ’, उनले भने, ‘महाभूकम्प, कोरोना महामारीलगायतका संकटमा अमेरिकाले गरेको सहयोगप्रति धन्यवाद छ।’
साथै, अर्थमन्त्री शर्माले नेपाललाई अहिले ठूला पूर्वाधारहरू आवश्यक भएकाले त्यसमा समेत अमेरिकी सहयोगको अपेक्षा रहेको बताएको उनको सचिवालयले जनाएको छ।
यूएसएडलगायतका अमेरिकी नियोगहरूमार्फत् नेपालमा निर्माण भइरहेका आयोजनाहरू सफलतापूर्वक सम्पन्न हुनेमा पनि मन्त्री शर्माले विश्वास व्यक्त गरे।
यसैगरी, नेपालले पर्यावरणसम्बन्धी समस्याहरू भोग्दै आइरहेको तर पनि ‘क्लाइमेट फन्ड’को रकम प्रयोग गर्न नपाइरहेको भन्दै त्यसमा अमेरिकाले सहजीकरण गरिदिन आग्रह गरे।
यता, राजदूत थम्प्सनले अमेरिका नेपालमा उत्पादित विभिन्न वस्तुको निर्यातलगायतका क्षेत्रमा समेत सहयोग गर्न तयार रहेको जवाफ दिए।
‘अमेरिका नेपालमा उत्पादित विभिन्न वस्तुको निर्यातलगायतका क्षेत्रमा समेत सहयोग गर्न तयार छ। नेपाल र अमेरिकाको द्विपक्षीय हितका लागि हामी कटिबद्ध छौं,’ उनले भने, ‘नेपालको सामाजिक, आर्थिकलगायतका क्षेत्रमा सहयोग गर्न अमेरिका सदैव कटिबद्ध छ।’
भेटका अवसरमा उनले नेपालसँग जोडिएर आफू काम गर्न सधैँ उत्सुक रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।