ललितपुर– नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेका छन्। प्रचण्ड निवास खुमलटारमा मंगलबार बिहान भएको भेटवार्तामा वर्षौंदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको जनाइएको छ।
भेटमा प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताए। ‘नेपाल र अमेरिकबीच वर्षौदेखिको मित्रता रहेको छ। तपाईंको कार्यकालमा यो सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु,’ अमेरिकी राजदूतलाई प्रचण्डको भनाइ थियो।
आफूहरु मुलुकको आर्थिक समृद्धिको अभियानमा रहेको बताउँदै प्रचण्डले यसमा अमेरिकाको सहयोग आवश्यक रहेको बताए।
राजदूत थम्पसनले प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको सुन्दर मुलुकमा आउँदा खुसी लागेको बताए। उनले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न आफूहरुको सहयोग निरन्तर रहने विश्वास दिलाए। राजदूत थम्पसनले ७५ वर्षदेखिको नेपाल–अमेरिकी सम्बन्धले आफ्नो कार्यकालमा अझै उचाइ लिने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।