काठमाडौं- नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित विद्युत आन्तरिक रुपमै खपत गर्नका लागि प्रसारण तथा वितरण प्रणालीलाई थप विस्तार र सुदृढ गर्ने भएको छ।
देशभित्र खपत गरी बढी भएको विद्युत भारत र बंगलादेशमा निर्यात गर्न प्राधिकरणले थप प्रसारण पूर्वाधार विस्तार गर्नेछ।
विद्युत खपत वृद्धिको सम्भावना रहेका प्रदेश १ अन्तर्गतका सुनसरी, मोरङ र झापा जिल्लालाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउने जनाएको छ। साथै, भारत र बंगलादेशमा विद्युत निर्यातका लागि थप प्रसारण लाइन पूर्वाधारको निर्माण गरिने जनाएको छ।
प्राधिकरणले मुलुकमा उत्पादित विद्युत आन्तरिक रुपमै खपत बढाउन अल्पकालीन, र दीर्घकालीन योजनासहित प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण तथा पूर्वाधार विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ। सञ्चालनमा रहेका पूर्वाधारहरुको स्तरोन्नति गर्ने प्राधिकरणको कार्यक्रम रहेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार विद्युत खपत बढाउन तथा निर्यातका लागि सुनसरी, मोरङ र झापामा आवश्यक पर्ने पूर्वाधारका विषयमा स्थलगत अवलोकन भ्रमण गरी जानकारी लिएका थिए।
टोलीले भारतको पश्चिम बंगाल राज्यबीच अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माणको सम्भावना, बंगलादेशतर्फ विद्युत निर्यातका सबैभन्दा छोटो रुट, प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि उपयुक्त स्थान लगायतको पहिचाहन गर्न स्थलगत अध्ययन गरेका गरेका थिए। टोलीले सुनसरी, मोरङ र झापामा निर्माणाधीन र हाल सञ्चालनमा रहेका विद्युत प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचनाका विषयमा पनि स्थलगत अध्ययन गरी जानकारी लिएका थिए।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत आपूर्तिलाई भरपर्दो तथा विश्वसनीय बनाउन र बस्ती बिस्तार तथा औद्योगिक करिडोर स्थापनाको सम्भावना भएका ठाउँहरुलाई लक्षित गरी प्रसारण तथा वितरण पूर्वाधार विस्तार गर्न लागिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।