काठमाडौं- भारतको गुजरातमा पुल भाँचिदा कम्तीमा ८० जनाको मृत्यु भएको छ। मोर्बी सहरस्थित माचु नदीमा भएको घटनामा कैयौं मानिस नदीमा खसेर डुबेको बीबीसीले जनाएको छ।
उक्त पुलमा दुर्घटना हुने बेला करिब ४ सय मानिस त्यहाँ थिए। स्थानीयबासीले दुर्घटनामा परेकाहरूको उद्धार प्रयास भइरहेको बताएका छन्।
झोलुंगे पुल भाँचिएको भिडियो स्थानीयहरूले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। जहाँ सैयौं मानिसहरू फसिरहेको देख्न सकिन्छ।
उक्त पुल मर्मत गरी पुनः सञ्चालनमा आएको केही दिनपछि नै भाँचिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल कदम चाल्ने बताएका छन्।
प्रधानमन्त्री राहत कोषबाट पुल दुर्घटनामा परी मृत्यु हुने परिवारलाई भारू २ लाख र घाइतेहरुलाई ५० हजार राहतको घोषणा गरिएको छ।
त्यस्तै गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले उक्त घटनामा मृत्यु हुने परिवारका लागि भारू ४ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार रुपैयाँ राहतको घोषणा गरेका छन्।
करिब एक शताब्दी पुरानो उक्त पुल मर्मतपछि हालै मात्र सर्वसाधारणका लागि खोलिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।