काठमाडौं– चालु आर्थिक वर्षको ३ महिनामा आयात १६.२० प्रतिशतले घटेको छ। गत वर्षको तुलनामा चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा १६.२० प्रतिशतले आयात घटेको भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकले देखाउँछ।
नेपालले गत वर्षको ३ महिनाको अवधिमा ४ खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख रुपैयाँको वस्तु आयात गरेको थियो। चालु आवको सोही अवधिमा नेपालले ४ खर्ब ९९ करोड ८३ लाख रुपैयाँको वस्तु आयात गरेको छ।
त्यस्तै, तीन महिनाको अवधिमा नेपालको निर्यात ३६ प्रतिशतले घटेको छ। सो अवधिमा नेपालले ४१ अर्ब ८२ करोड २ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ। गत वर्षको सोही अवधिमा नेपालले ६५ अर्ब ५ करोड २८ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो। जुन गत वर्षको तुलनामा ३५.७१ प्रतिशतले कमी हो।
नेपालले ३ महिनाको अवधिमा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको छ। गत वर्षको सोही अवधिमा नेपालले ४ खर्ब १३ अर्ब ४७ करोड ३ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो। जसमा यो वर्ष १३.१३ प्रतिशतले कमी आएको छ।
त्यस्तै, नेपालले ३ महिनाको अवधिमा ४ खर्ब ४२ अर्ब ८१ करोड ८५ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ। गत वर्षको सोही अवधिमा नेपालले ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो। साथै, नेपालले सो अवधिमा ९६ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।