काठमाडौं– दार्चुलाका बालक पवन महराको मृत्युको विषयलाई लिएर नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ।
काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत् परराष्ट्र मन्त्रालयले आइतबार भारतलाई कूटनीतिक नोट पठाएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
तावाघाट–लिपुलेक सडक निर्माणका क्रममा भारतीय पक्षले विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक महरा घाइते भएका थिए। उनको मृत्यु भएपछि गृहले क्षतिपूर्ति र राहतका लागि पहल गरिदिन आग्रह गर्दै शनिबार परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको थियो। सोही पत्रपछि मन्त्रालयले आइतबार कूटनीतिक नोट पठाएको हो।
उक्त घटनालाई लिएर भारतीय निर्माण कम्पनीले गल्ती स्वीकार गरेर क्षतिपूर्ति समेत उपलव्ध गराउन राजी भएको छ।
धार्चुलास्थित एसडीएम कार्यालयमा नेपाली प्रतिनिधि समेतको उपस्थितिमा भएको छलफलपछि तावाघाट–लिपुलेक सडक निर्माण गरिरहेको गर्ग एन्ड गर्ग कम्पनीले पीडित परिवारलाई क्षतिपूर्तिवापत १० लाख भारु उपलब्ध गराएको हो। यस्तै, आगामी दिनमा जिलेटिन विस्फोट गराउँदा दुवै पक्षले पूर्व जानकारी दिनुपर्ने सहमति पनि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।