सुनसरी– सुनसरीमा मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–१० मा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा मोरङ बूढीगङ्गा–१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राई रहेको सुनसरी प्रहरीले जनाएको छ।
विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को४प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार तीन जना गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते भएका तीनै जनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।