सोल- उत्तर कोरियाले दुई साताको अवधिमा छोटो दूरीका दुई वटा क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको छ। आणविक हतियारको प्रयोगले प्योङयाङको शासनको अन्त्य हुने अमेरिकी सेनाको चेतावनीलाई बेवास्ता गर्दै उत्तर कोरियाले शुक्रबार ती ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गरेको हो।
दक्षिण कोरियाको सेनाले शुक्रबार मध्याह्न उत्तरको पूर्वी तटीय टोङगचोन क्षेत्रबाट दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरिएको बताएको छ। दुवै क्षेप्यास्त्र अधिकतम २४ किलोमिटर उचाइमा करिब दुई सय ३० किलोमिटर उडेका जनाएको छ।
सोलले विज्ञप्ति निकालेर प्रक्षेपणको कडा शब्दमा निन्दा गरेको छ। उसले प्रक्षेपणलाई ‘गम्भीर उत्तेजना’ भन्दै त्यसले कोरियाली प्रायद्वीपको क्षेत्रीय शान्तिमा आँच पुर्याएको तथा क्षेप्यास्त्र निर्माण सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन भएको बताएको छ।
‘यूएस इन्डो प्यासिफिक कमाण्ड’ले क्षेप्यास्त्र प्रक्षेपणबाट उत्तर कोरियाको अवैध आणविक हतियार र ‘ब्यालिस्टिक मिसाइल’ कार्यक्रमको अस्थिर प्रभाव प्रस्तुत भएको टिप्पणी गरेको छ भने जापानी रक्षा मन्त्रालयले प्रक्षेपण पत्ता लगाइएको तथा प्रयोग गरिएका क्षेप्यास्त्रका प्रकार र तिनीहरूको उडान क्षमताको विश्लेषण भइरहेको बताएको छ।
आगामी साता दक्षिण कोरिया र अमेरिकी वायु सेनाले संयुक्त तालिम सञ्चालन गर्ने योजना बनाइरहेका बेला उत्तरकोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको हो। उत्तर कोरियाले सोल र वासिङगटनको यस्तो नियमित अभ्यासलाई आफूमाथि आक्रमण गर्ने अभ्यासको रूपमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।