भैरहवा– गृहमन्त्री बालकृष्ण खाणले साइकल सिटी सिद्धार्थनगरले साइकल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रुपन्देहीको भैरहवादेखि तनहुँको मानुङकोटसम्मको चार दिने साइकल यात्राको शुभारम्भ गरेका छन्।
गृहमन्त्री खाणले हरियो झण्डा फहराइ शुक्रबार साइकल यात्रो प्रारम्भ गरेका हुन्। उनले भैरहवाको लुम्बिनी गेटबाट साइकलयात्रीलाई विदाइ गरेका थिए।
साइकल यात्राले आन्तरिक पर्यटन र स्थानीय उत्पादन प्रवद्र्धन गर्ने विश्वास लिइएको आयोजक साइकल सिटीका अध्यक्ष सूर्यकुमार सारू मगरले बताए।
साथै, नगरसँगै देशभरकै साइकल लेन निर्माणमा सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै साइकल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको उनको भनाइ छ।
गृहमन्त्री खाणले पछिल्लोसमय साइकल यात्रा गर्नेहरूको संख्या बढ्दै गएको बताउँदै यसले आन्तरिक पर्यटन प्रवद्र्धन र वातावरण संरक्षणमा सहयोग पुग्ने बताए।
शुक्रबार भैरहवाबाट सुरु भएको यात्रा पाल्पा रामपुरहुँदै तनहुँको मानुङकोट पुग्ने यात्राका संयोजक राजेश खरेलले जानकारी दिए। यात्राको पहिलो दिन भैरहवाबाट सुरु भइ बुटवल, पाल्पाको बर्तुङ्ग, आर्यभञ्याङ, चिदीपानी, हुमिनहुँदै धोबाधी पुग्नेछ।
दोस्रो दिन धोबाधीबाट यात्रा सुरुगरी रम्भादेवी मन्दिर, ताहुँ बजार, बिर्कोट, रामपुरहुँदै भिमाद बजार पुग्नेछ। तेस्रो दिन भिमाद बजारदेखि खैरेनीटार, जामुने भञ्ज्याङ, चापाघाटहुँदै मानुङकोटसम्म पुग्ने संयोजक खरेलले जानकारी दिए।
साइकल यात्रा चौथो दिन मनुग्कोटदेखि दमौली बजारसम्म पुग्नेछ। साइकल यात्रा सकिएपछि दमौलीबाट भैरहवा भने उाीहरू बसमार्फत फर्किने कार्यक्रम छ। यात्रामा १६ जना साइकलयात्री सहभागी छन्।
साइकल सिटीले यसअघि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भन्दै भैरहवादेखि बर्दियासम्मको यात्रा गरिसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।