धनुषा– छठ पर्व नजिकिएसँगै तराईमा माटोका भाँडाको माग बढेको छ। छठका लागि स्थानीय उत्पादनसँगै भारतीय सामग्रीको पनि नेपाली बजारमा बिक्री बढेको छ।
सीमावर्ती बजारमा भारतीय माटाका भाडा र भित्री बजारमा स्थानीय उत्पादन भएका माटोको भाँडाको कारोबार बढेको हो। धनुषाको जनकपुरधामसहित महेन्द्रनगर सखुवा, ढल्केवर, वटेश्वर, धारापानी, वीरेन्द्रबजार, सबैला, सहिदनगरको मुख्य चोक र हटियामा अहिले साप्ताहिक हटियाको दिन मात्र नभई दिनहुँजसो माटाका भाँडा बिक्री हुँदै आएका छन्।
सांस्कृतिक पर्वमा प्रायजसो भाँडा माटाकै प्रयोग गरिने प्रचलनले यस्ता पर्व नजिकिएसँगै माटाका भाँडा बनाउने कुमालेको व्यस्तता निकै बढेको छ। तराई क्षेत्रमा माटाका नयाँ भाँडामा कार्य गर्न उत्तम हुने धार्मिक, सामाजिक मान्यताले चाड पर्वमा यसको माग ह्वात्तै बढ्ने गरेको यहाँका उद्यमी, व्यापारी र सर्वसाधारण बताउँछन्।
विभिन्न स्थान र सीमावर्ती बजारमा छठका लागि माटोका दियो, चौमुखे दीप, पाला, माटोको हाती, ढकनालगायतका भाँडाको बिक्री बढेको क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयाका विष्णुलाल पण्डितले बताए।
पण्डितले भने, ‘पहिलेपहिले त हाम्रो गुजाराको पेसा नै यही थियो, अब प्लास्टिक र अन्य धातुका भाँडाको प्रयोग बढेपछि चाडपर्वमा खुम्चिएको छ।’ हिन्दू धर्मावलम्बीको दशैं, तिहार, छठलगायतका चाडपर्वमा कलश, गमला, दियो, कोहालगायतका माटोका भाँडा बढी बिक्रीवितरण हुने गरेकामा सबैभन्दा बढी तिहारमा माटोको दियो र छठमा विभिन्न कलात्मक भाँडा बिक्री हुने गरेको क्षीरेश्वरनाथ नगरपालिका– ६ सखुवाका कमल पण्डितले बताए।
यहाँका पण्डित कुम्भकार (कुमहार)ले यो समयलाई आफ्नो पर्वभरिको आम्दानी गर्ने सिजनका रुपमा समेत लिने गरेका छन्। नेपाली कुम्भकार कम भएको र केहीले पेसा नै छाडेकाले नेपाली बजारमा माटोको भाँडासमेत भारतीय बजारको भर पर्नुपरेको छ।
अहिले छठका लागि माटोको भाँडोको एक सेट लिन २०० देखि ३०० रुपैयाँ तिर्नुपर्ने कुमाल समुदाय जनकपुरधामका कन्हैया पण्डितले जानकारी दिए। उता केही नेपाली कुमालले पुर्ख्यौली पेसा छाडेका कारण भारतीय उत्पादनले नेपाली बजार लिएको दाबी गर्छन् भने केही कुमालले माटोका भाँडा बिक्रीका लागि तिहार र छठ तथा चौरचन्द नै पख्रनुपर्ने भएकाले संकटमा परेको बताउँछन्।
धनुषासहित यहाँका अधिकांश पण्डित कुमालले भाँडा बनाउने माटो र मेहनतअनुसारको आम्दानी नहुँदा नेपाली कुमाल आफ्नो पुर्ख्यौली पेसाबाट विमुख भएको बताउँछन्। पुस्तौँदेखि गर्दै आएको काम आधुनिकताले सङ्कटमा परेपछि नेपाली कुमाल अहिले जीविकोपार्जन गर्न अन्य पेसा गर्न थालेपछि भारतीय सीमावर्ती बजारका कुमालले माटोका भाँडा नेपाली बजारमा बेच्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।