जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय महोत्तरीले भंगहा नगरपालिका- ८ मा कर्फ्यू आदेश जारी गरेको छ। दुई समुदायबीच भएको झडपले स्थिति तनावग्रस्त बनेको भन्दै प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।
दिउँसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आदेशको बर्खिलाप भएमा कानुन बमोजिम कडा कारबाही हुने चेतावनी समेत प्रशासनले दिएको छ।
भंगहाको दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तर पूर्व ब्रम्हस्थान पररिया र उत्तरमा धर्मपुरभन्दा दक्षिणको भाग, पूर्वमा लोहारपट्टी नगरपालिका- १ बगडा चौक र पश्चिममा इलाका प्रहरी कार्यालय, लोहारपट्टी नजिकोको पुलसम्म कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जनाएको छ।
साम्प्रदायिक सदभाव खलल पुग्ने गरी दुई पक्षबीच झडपको स्थिति सिर्जना भई शान्ति सुरक्षाको स्थिति भंग हुन सक्ने अवस्था सिर्जना भएको हुँदा स्थितिलाई सामान्यीकरण गर्ने प्रयास भइरहेको प्रशासनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
बिहीबार हिन्दु सम्राट सेनाले शोभायात्रा निकालेको बेला अर्का समुदायका व्यक्तिहरुले पत्थरबाजी गरेपछि झडप भएको प्रहरीले जनाएको छ। स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा रहेका प्रहरीले दर्जनौं सेल अस्रु ग्याँस र हवाई फायर गरेका थिए। स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।