फाइल तस्बिर
खलंगा– अभिरल वर्षासँगैको पहिरोले राष्ट्रिय प्रसारण लाइनमा क्षति पुगेपछि जुम्ला सदरमुकाम खलंगा दशैंदेखि नै अन्धकारमा छ। तिहार सुरु भइसक्दा पनि क्षतिग्रस्त प्रसारण लाइन बन्न सकेको छैन।
नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले असोज १९ गतेदेखि अवरुद्ध भएको विद्युत् सेवा अझै सुचारु हुन नसकेको जानकारी दिए।
बाढीपहिराले जुम्ला र कालीकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएको छ। २ सातादेखि विद्युत् आपूर्ति भएको छैन।
विद्युत् वितरण केन्द्रका प्रमुख रावलले भने,‘खलंगामा २ सातादेखि नेशनल ग्रीड अवरुद्ध भएपछि स्थानीय घुघुत्ती र जाल्पादेवी साना जलविद्युत् आयोजनाको बिजुली जुम्ला सदरमुकाम खलंगामा कामचलाउ वितरण भइरहेको छ। यही बिजुली पनि २४सै घण्टा नियमित आपूर्ति हुने अवस्था छैन।’ टोल र क्षेत्रको क्लस्टर मिलाएर बिजुली आपूर्ति गर्ने गरिएको रावलले बताए।
स्थानीयस्तरमा उत्पादित बिजुली कम क्षमताको छ। उक्त बिजुली पनि अस्पताल, सुरक्षा निकायलगायत विशेष ठाउँलाई प्राथमिकता दिएर वितरण गरिएको छ। स्थानीयवासीलाई भने घरमा कम्तीमा मोबाइल लगायत अत्यावश्यक उपकरणहरु चार्ज गर्न होस् भनेर बिजुली आपूर्ति गरिएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ।
क्षतिग्रस्त भएको स्थानमा बिजुलीका पोल गाड्ने र तार जोड्ने काम निरन्तर भइरहेको रावलले जानकारी दिए। सडक पनि अवरुद्ध भएकाले विद्युत् सामग्री ओसारपसारमा समस्या भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।