काठमाडौं– कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले मंगलबार दिउँसो ४ बजेर ५२ मिनेटमा स्पर्श गर्नेछ।
ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ बजेर २४ मिनेटमा सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। ग्रहणले बेलुकी पौने सात बजे छोड्नेछ। ३२ मिनेट नेपालबाट ग्रहण देखिने उनले बताए।
खण्डग्रास सूर्यग्रहण पहाडी र खुला क्षेत्रबाट मात्रै देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ। खण्डग्रास सूर्यग्रहणमा चन्द्रमाले सूर्यको केही भाग मात्र छेकेको देखिन्छ। सम्म परेका भूभागबाट ग्रहण देख्न कठिन हुने सोसाइटीले जनाएको छ ।
नाङ्गो आँखाले भने ग्रहण हेर्न नहुने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए। विशेष किसिमको चस्मा लगाएर वा पानीमा छायाँ पारेर हेर्न सकिने छ। ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।