बुटवल – गृहमन्त्री बालकृष्ण खाणले अब सरकारले नागरिकको अवस्था परिवर्तन गर्न योजना बनाएर अघि बढ्ने बताएका छन्।
नेपाल महिला संघ, बुटवल उपमहानगरपालिका १५ ले सोमबार सेमलारमा गरेको कार्यक्रममा उनले लामो संघर्षपछि राजनीतिक व्यवस्था परिवर्तन भए पनि अहिलेसम्म नागरिकको अवस्था परिवर्तन गर्न नसकिएको बताए।
अब सरकारले नागरिकको अवस्था परिवर्तन गर्ने योजना ल्याउनमा ध्यान केन्द्रित गर्ने उनको भनाइ थियो।
मंसिर ४ गतेको निर्वाचनमा रुपन्देही ३ बाट पाँचदलीय गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका गृहमन्त्री खाणले नागरिकको अवस्था परिवर्तन गर्न बलियो सरकार आवश्यक हुने बताए। निर्वाचनमा बलियो सरकार बनाउने गरी सिट जित्नका लागि पाँचदलीय गठबन्धन गरिएको उनको भनाइ थियो।
कर्णाली, दलित, महिला, जनजाति र मधेसीको हक–अधिकारका बारेमा संसद्मा वकालत गर्न कानुनमै उनीहरूको निश्चित सिट छुट्टाइएकाले संविधान सभाबाट जारी संविधान समावेशिताको हकमा उत्कृष्ट रहेको बताए।
कार्यक्रममा विष्णुमाया शर्माको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचनमा महिला परिचालन समिति बनाएको घोषणा गरियो । समितिका पदाधिकारी र सदस्यलाई गृहमन्त्री खाणले निर्वाचनमा पाँचदलीय गठबन्धनका उम्मेदवारलाई जिताउन क्रियाशील हुन आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।