काठमाडौँ- अनधिकृत रुपमा फोहोर फाल्नेहरुलाई कारबाही गरेर काठमाडौँ महानगरपालिकाले ४ लाख ५ सय रुपैयाँ जरिवाना रकम संकलन गरेको छ।
रातको समयमा सडक तथा नदी किनाराजस्ता सार्वजनिक स्थलमा घरको फोहोर बोकेर फाल्न आउने व्यक्ति, व्यवसायी तथा संस्थाका प्रतिनिधिलाई पक्राउ गरी जरिवाना गरिएको हो।
वातावरण तथा कृषि विभागले गरेको अनुगमनका क्रममा साउन महिनामा १ लाख ५२ हजार ५ सय रुपैयाँ, भदौ महिनामा ९९ हजार ५ सय रुपैयाँ र असोज महिनामा १ लाख ४८ हजार ५ सय रुपैयाँ संकलन भएको नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिए।
फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा १ हजार रुपैयाँदेखि बढीमा २५ हजार रुपैयाँ जरिवाना रकम तोक्ने गरिएको छ।
'जरिवाना तोकेपछि कतिपय व्यक्ति गल्ती महसुस गरेर जरिवाना तिर्छन् भने कति व्यक्ति जरिवाना तिर्नु नपर्ने अडान लिन्छन्,' भट्ट भन्छन्, ‘जानेर पनि नजानेजस्तो गरेर फोहोर फाल्न आउने पनि भेटिन्छन्। कतिपयले आफ्नो फोहोर फाल्न अरुलाई प्रयोग गरेका छन्। कतिपय विद्यार्थीले फोहोर व्यवस्थापनको आफूसँग विकल्प नभएपछि बाहिर आउनु परेको बताउने गरेका छन्।’
अनुगमनका लागि नगर प्रहरी र कर्मचारीको टोली हरेक दिन बेलुकाबाटै खटिने गरेको छ। एक दिनमा ५ जनाको टोली खटिन्छ।
काठमाडौँ महानगरले कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर राख्न र तोकिएका व्यक्ति तथा सवारी साधन आएपछि मात्र बाहिर निकाल्न महानगरको अनुरोध छ। यसरी गरिएको अनुरोधलाई नटेर्नेमाथि कारबाही गर्ने गरिएको अनुगमन टोलीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।