बुटवल- नेपाल पत्रकार महासंघ रुपन्देहीले नेपाल लाइभकर्मी प्रतीक पौडेलसहित जिल्लामा क्रियाशील ९ जना पत्रकारलाई पुरस्कृत गरेको छ। महासंघ रुपन्देहीले २०७५, २०७६ र २०७७ सालको उत्कृष्ट पत्रकारिता पुरस्कार, उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कार र सिद्धार्थ श्रमजीवी पत्रकारिता पुरस्कारबाट तीन/तीन जना गरी ९ जना पत्रकारलाई पुरस्कृत गरेको हो।
नेपाल पत्रकार महासंघ रुपन्देहीको आइतबार बुटवलमा आयोजित वार्षिक साधारणसभामा उत्कृष्ट पत्रकारिता पुरस्कारबाट रेखा भुसाल, यानेन्द्र जिसी र रामप्रसाद आचार्य, उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कारबाट चन्द्रकान्त खनाल, कपिल ज्ञवाली र पूजा पन्थी तथा सिद्धार्थ श्रमजीवी पत्रकारिता पुरस्कारबाट नरेश केसी, प्रकाश न्यौपाने र प्रतीक पौडेललाई सम्मान गरिएको हो।
पुरस्कृत पत्रकारहरूलाई नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र जिल्ला शाखा रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक महमद खान र बुटवल पब्लिक स्कुलका प्राचार्य हेमलाल शर्माले सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गरे।
बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा स्थापना गरिएको उत्कृष्ट पत्रकारिता पुरस्कारको राशि ५० हजार रुपैयाँ, बुटवल पब्लिक स्कुलको आर्थिक सहयोगमा स्थापना गरिएको उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कारको राशि १० हजार रुपैयाँ र सिद्धार्थनगर नगरपालिकाको आर्थिक सहयोगमा स्थापना गरिएको सिद्धार्थ श्रमजीवी पत्रकारिता पुरस्कारको राशि पाँच हजार रुपैयाँ रहेको महासंघ रुपन्देहीका सचिव विनोद परियारले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।