धनगढी– थारु समुदायलाई मधेशीमा सूचीकरण नगर्न थारु अधिकारकर्मीहरूले माग गरेका छन्।
थारु कल्याणकारिणी सभा, थरुहट थारुवान राष्ट्रिय मोर्चा, थारु विद्यार्थी समाज, थारु नागरिक समाजले संयुक्त विज्ञप्ति जारी गर्दै थारु समुदायलाई मधेशी क्लस्टरमा समावेश गरेकोप्रति आपत्ति जनाएका हुन्।
थारु कल्याणकारिणी सभाका कार्यवाहक सभापति माधव चौधरीले थारु जातिलाई मधेशीमा समावेश गरिनु गैरजिम्मेवारीपूर्ण कार्य रहेको बताए। मधेशी आयोगले पेस गरेको चौंथो वार्षिक प्रतिवेदनमा थारु समुदायलाई मधेशी क्लस्टरमा सूचीकरण गरिएको छ।
मधेशी आयोगले आधार प्रमाणबिना राजनीतिक आडमा आदिवासी थारु जातिलाई मधेशीमा सूचीकरण गरेको विज्ञप्तिमा उल्लेख छ।
‘मधेशी आयोगले थारु समुदायलाई सूचीकरण गरेको दुस्प्रयास तथा सिफारिस प्रतिवेदन तत्काल सच्याउन हुन सम्बन्धित आयोगलाई अनुरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘यदि आफनो प्रतिवेदन सिफारिसमा थारु जाति सूचीकरण नसच्याए त्यसबाट हुन जाने आशातित क्षतिको जिम्मेवारी आयोगले लिनु पर्ने छ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।