काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आफ्नो वास्तविक नाम नलेख्ने घोषणा गरेका छन्।
कपिलवस्तुको शिवगढीमा २५ असोजदेखि जारी पार्टीको नवौं महाविधेशनको बुधबार समापन गर्ने क्रममा उनले यस्तो घोषणा गरेका हुन्।
अब उनको नाम विप्लव र थर ‘सी’ हुनेछ। ‘सी’को अर्थ कम्युनिस्ट हुने बताइएको छ। अब समग्रमा उनको नाम विप्लव सी हुनेछ।
विप्लवसँगै अब उनको पार्टीमा आबद्ध सबैले नामको पछाडि अनिवार्य सी लेख्नुपर्ने पार्टीले निर्णय गरेको छ।
‘हामीले यो महाधिवेशनबाट नयाँ दृष्टिकोणसँगै एउटा नयाँ जाति निर्माण गरेका छौं,’ विप्लवको भनाइ उदृत गर्दै एक नेताले भने, ‘म यो सगर्भका साथ घोषणा गर्दछु, अब हामी सबैले आफ्नो नामको पछाडि अनिवार्यरुपमा ‘सी’ लेख्नेछौं । अब म नेत्रविक्रम चन्द होइन विप्लव सी हुनेछु।’
भूमिगत कालमा पनि तत्कालीन माओवादीहरूले उपनाम प्रयोग गर्ने गर्थे। अब फेरि विप्लव समूह त्यसैको अभ्यासमा लागेको विश्लेषण गरिएको छ।
शान्ति प्रक्रियापछि पनि फेरि सशस्त्र संघर्षमा उत्रिएपछि विप्लव समूह ०७५ सालमा प्रतिबन्धमा परेको थियो। तर, केपी शर्मा ओली नेतृत्वको सरकारले ०७७ मा शान्ति प्रक्रियामा ल्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।