काठमाडौं- एमालेका नेता ठाकुर गैरे २०७० को दोस्रो संविधान सभा निर्वाचनमा पाल्पा- २ बाट उम्मेदवारका आकांक्षी थिए। तर अन्तिम समयमा पार्टीले अर्का नेता सोमप्रसाद पाण्डेलाई टिकट दियो। गैरेलाई निर्वाचनका चुनावी कमाण्डर बनाइयो।
आफैं उम्मेदवार बन्ने योजनामा रहेका गैरे ‘रिङ’ आउट भएपछि पाण्डे लगायत पाल्पाका अन्य उम्मेदवारलाई जिताउने अभियानको नेतृत्वमा सीमित भए।
२०७४ मा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पनि टिकटका लागि गैरे र पाण्डेकै दाबेदारी रह्यो। उक्त निर्वाचनमा पनि पाण्डेले नै बाजी मारे।
गैरेलाई प्रदेश सभाको उम्मेदवारी दिन सहयोगी तथा शुभेच्छुकले सुझाव दिएका थिए। तर उनले संघमै प्रतिस्पर्धा गर्ने मनसाय राखेपछि गैरे पाण्डेको जितका लागि सहयोगी भूमिकामा रहे।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भने कुनै बेला पाण्डेलाई जिताउन ‘कमाण्डर’ को भूमिका खेलेका गैरे र उनै पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ। त्यसकारण पाल्पा- २ को निर्वाचनलाई निकै उत्सुकताका साथ हेरिएको छ।
नेतृत्वको निकट सम्बन्धका कारण पाण्डे पहिलो रोजाइमा
सोमनाथ पाण्डे २०२७ देखि सक्रिय राजनीतिमा छन्। राजनीतिमा रहेको सक्रियताभन्दा पनि माधवकुमार नेपालका पारिवारिक सम्बन्धका कारण अवसर पाइरहने नेतामा पर्छन् उनी। त्यही कारण पनि हुन सक्छ, पाण्डेले २०५१ पछिका सबै निर्वाचनमा पल्पाबाट उम्मेदवार हुने मौका पाएका छन्।
२०५१ मा पाण्डे नेपाली कांग्रेसका उम्मेदवार गम्भीरजंग कार्कीलाई पराजित गर्दै पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेका थिए। पाण्डेले १७ हजार ८५१ मत ल्याउँदा कार्कीले १२ हजार १४७ मत ल्याएका थिए।
यस्तै, २०५६ को निर्वाचनमा पाण्डेले १५ हजार ९०५ ल्याएर जित दोहोर्याउँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका राजनप्रसाद पन्तले १५ हजार १५१ मत ल्याएका थिए।
पाण्डे २०६४ को पहिलो संविधान सभाको निर्वाचनमा भने तत्कालीन नेकपा माओवादीकी उम्मेदवार लिलाकुमारी बगालेसँग पराजित भए। बगालेले १२ हजार ७५० मत ल्याउँदा उनले १० हजार ९२९ मत पाएका थिए।
२०७० को दोस्रो संविधान सभाको निर्वाचनमा भने पाण्डेले पुरानो हार उल्ट्याए। उनको यही जितमा गैरे चुनावी कमाण्डर भएका हुन्।
पाण्डेले यो निर्वाचनमा १३ हजार १९३ मत ल्याएका थिए भने उनीसँग पराजित उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वीरबहादुर रानाले १३ हजार ९८ मत प्राप्त गरेका थिए।
गैरेलाई रोक्दै २०७४ मा उम्मेदवारी दिँदा पाण्डेले ३४ हजार ८९९ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका हरिप्रसाद नेपालले २४ हजार ५५४ मत पाएका थिए। पाण्डेको यो जितका पछाडि तत्कालीन बामगठबन्धनको मतसमेत थियो।
धेरै पटक संसदीय राजनीतिमा अवसर पाए पनि कार्यकारी भूमिकामा भने पाण्डेले एक चोटी मात्र अवसर पाएका छन्। उनी २०७२ मा उद्योग मन्त्री भएका थिए।
विद्यार्थी राजनीतिमा चर्चित गैरे
एमालेको भ्रातृ संगठन अनेरास्ववियुबाट २०४४ बाट विद्यार्थी राजनीति सुरु गरेका गैरे पाल्पा जिल्ला अध्यक्ष हुँदै २०६३ मा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भएका थिए।
विद्यार्थी संगठनको नेतृत्वमा हुँदा गैरेले लोकतन्त्रको स्थापनाका लागि गरेको योगदान र विद्यार्थीका निम्ति सवारी शुल्कमा ३३ प्रतिशत छुटलाई कार्यन्वयनमा निरन्तर खबरदारी गरेको भूमिकालाई स्मरण गरिन्छ। यद्यपि, सवारी शुल्कमा छुटको व्यवस्थाका लागि दिवंगत नेता रवीन्द्र अधिकारीले नेतृत्व गरेका थिए।
यस्तै, २०६५ मा बुटवलमा भएको एमालेको आठौं महाधिवेशनबाट एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि गैरेले थप चर्चा बटुलेका थिए।
एउटै गुटमा हुँदा पछि परेका गैरे
गैरे र पाण्डेबीचको अर्को पक्ष भनेको उनीहरूको आबद्धता एउटै गुटमा हुनु। एमालेबाट विभाजन भएर एकीकृत समाजवादी पार्टी बन्नुअघि गैरे र पाण्डे तत्कालीन एमाले नेता माधव नेपालको गुटमा थिए। एउटै जिल्लाका दुई नेता, एउटै गुटमा रहनुले गैरेका लागि संसदीय राजनीतिमा पछि रहनुपर्ने अवस्था रह्यो।
केपी ओली र माधव नेपालबीच विवाद चर्किँदा अन्तिम अवस्थासम्म नेपालसँगै रहेका गैरेले पार्टी विभाजनमा भने नेपालको साथ छोडे। तर पाण्डे नेपालसँगै नयाँ पार्टीमा गए। यसले गैरेलाई राजनीतिक उचाइका लागि हुँदै आएको अवरोध हटेको उनी निकट बताउँछन्।
हुन पनि पाण्डेले एकीकृत समाजवादीमा प्रवेश गरेपछि गैरे आसन्न निर्वाचनको उम्मेदवारीका लागि जिल्लाबाट एकल सिफारिसमा परेका थिए।
कमजोर जनधार, आफ्नै ‘चुनावी कमाण्डर’ सँग प्रतिस्पर्धा
सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका पाण्डेको पार्टी एकीकृत समाजवादीको पाल्पा- २ मा जनाधार कमजोर छ। वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको तथ्याङ्क हेर्ने हो भने पाण्डेको पार्टीका वडाध्यक्षका उम्मेदवारले यो क्षेत्रबाट जम्मा ४३३ मत पाएका छन्।
यो क्षेत्रमा बगनासकाली गाउँपालिका, तानसेन नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ९, १०, ११, १२, १३, १४, तिनाउ गाउँपालिकाका वडा नम्बर १, २, ३, ४, ६, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका र माथागढी गाउँपालिकाको वडा नम्बर १ रहेका छन्।
यो क्षेत्र भित्रका एकीकृत समाजवादी बाहेक अन्य दलका वडाध्यक्ष उम्मेदवारले पाएको मत हेर्ने हो भने एमाले वडाध्यक्ष उम्मेदवारले धेरै मत पाएका छन्। एमाले वडाध्यक्ष उम्मेदवारले ३० हजार ५६६ मत, कांग्रेस उम्मेदवारले २९ हजार ३९ मत, माओवादी केन्द्रका उम्मेदवारले ४ हजार ३१३ मत पाएका छन्।
उक्त तथ्याङ्क हेर्दा पाण्डेको जित्ने आधार भनेको गठबन्धनका अन्य दलको मत हो। यता, गैरेको जित्ने आधार भनेको नयाँ उम्मेदवार, विद्यार्थी राजनीतिमा कमाएको ख्याति र आफ्नै पार्टीको बलियो जनाधार भएको जानकारहरू बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।