फाइल तस्बिर
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २–२ पटक मनपरी ढंगले संसद् विघटन गरेको बताएका छन्। मनपरी नहोस् भनेरै संविधान लेख्दा विशेष प्रावधान राखिएको उनको भनाइ छ।
‘जनताले चुनेको संसद् मनपरी ढंगले भंग थाल्ने हुनाले नै संविधान बनाउँदाखेर नै संसद् कुनै पनि हालतमा भंग गर्न नपाइने बनाएको छ। संविधानमा प्रावधान राखेका छौँ- यो अवस्थामा बाहेक भंग गर्न पाइँदैन भनिएको छ। (ओलीले) राति २ बजे राष्ट्रपतिलाई उठाएर भंग गरिदिनुभयो,’ देउवाले भने।
तत्कालीन प्रधानमन्त्री ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ गते प्रतिनिधि सभा विघटन गरेका थिए। जेठ ८ को विघटन भने बिहान २ बजे गरिएको थियो।
ललितपुरमा मंगलबार आयोजित सत्ता गठबन्धनको सभामा ओलीप्रति कटाक्ष गर्दै देउवाले भने, ‘त्यस्तो किसिमले लहडमा संसद् भंग गर्न थालेपछि त उहाँले लहडमा केके गर्नहुन्छ, गर्नुहुन्छ। त्यसकारणले हामीले संसद् बचाउन आवश्यक ठान्यौँ।’
देउवाले निर्वाचन गर्ने ठीक समयमा अहिले निर्वाचन हुन लागेको बताए। ‘चुनाव हुने समय हुँदैछ। उहाँ (ओली)ले दुई वर्षअघि नै भंग गरिदिनुभयो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।