काठमाडौं– पूर्वसभामुख तथा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले डेंगुबाट निधन भएकी कलाकार सुशीला घ्लान तामाङका परिवारलाई भेटेर समवेदना प्रकट गरेकी छन्।
काठमाडौंको शंखरापुर नगरपालिका–१ स्थित घ्लानको घर पुगेर उनले परिवार र आफन्तलाई समवेदना दिएकी हुन्। घ्लानको असामयिक निधनले नेपाली सांगितीक क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै घर्तीले दुःख व्यक्त गरिन्।
२५ वर्षीया घ्लानको शुक्रबार जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो। तामाङ भाषाका गीतमार्फत् कलाकारितामा फड्को मारेकी घ्लानले थुप्रै म्युजिक भिडियोहरुमा अभिनय गरेकी छन्।
घ्लानले अभियन गरेको टुङ्नाको धुन, डम्फुमा सेलो, दुप्चेश्वर मेला, ल्होछार मेलाजस्ता गीत जनमानसमा लोकप्रिय छन्। उनले अभिनय गरेको ‘मायाभन्दा ठूलो जात होइन, कहाँ पर्यो घर’ बोलको म्युजिक भिडियो सार्वजनिक हुने क्रममा छ।
शुक्रबार नै उक्त म्युजिक भिडियो सार्वजनिक गर्ने कार्यक्रम थियो। तर, घ्लानको निधन भएका कारण रोकिएको छ। घ्लान अभिनयमार्फत तामाङ समुदायको मौलिक गीत/संगीतको संरक्षणमा सक्रिय थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।